Thaha

Saturday 21 September - 8:04 pm NST

कोल्डडायरीयाले जाजरकोटमा दुई शिशुको मृत्यु

काठमाण्डौं, पुस ११ । अत्यधिक चिसो बढेपछि जाजरकोटमा झाडापखालाका कारण दुई शिशुको मृत्यु भएको छ । थालारैकर गाविसमा फैलिएको कोल्ड डायरियाले नवीन थापाका ९ महिने छोरा मदन र अमर थापाका ६ महिनाकी छोरी झरनाको मृत्यु भएको हो ।

पाँच दिनदेखि फैलिएको झाडापखालाबाट बालबालिका र वृद्धबृद्धा बिरामी परेका छन् । थालारैकरको न्यूनतम तापक्रम माइनस ४ डिग्री पुगेपछि कोल्ड डायरिया फैलिएको जिल्ला अस्पतालका डाक्टर दीपक पुनले बताउनुभयो । यसैबीच, काठमाडौं सहित देशैभर अघिल्लो वर्षको तुलनामा यस वर्ष चिसो बढेको  छ । मौसमविद् शान्ति कँडेलका अनुसार सन् २०१४ भन्दा सन् २०१५ चिसो वर्ष भएको हो । डिसेम्बर महिनामा काठमाडौंमा अघिल्लो वर्षको भन्दा कम तापक्रम मापन गरिएको छ ।

अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम एक दशमलव ४ डिग्री मापन गरिएकोमा यस पटक भने सून्य डिग्री मापन गरिएको छ । जनवरीको पहिलो हप्तासम्म सामान्यतया तापक्रम घट्दै जाने भएकाले काठमाडौंको तापक्रम यस पटक माईनसमा जानसक्ने सम्भावना छ ।

चिसो बढेपछि गोरखाको लाप्राकमा रहेको मणिकामदेवी माध्यामिक बिद्यालय बन्द गरिएको छ । टहरोमा बसेका बिद्यार्थीमा रुघाखोकीजस्ता समस्या देखिएको र गुप्सीपाखामा अत्याधिक चिसो बढेको भन्दै दश दिनका लागि बिद्यालय बन्द गरिएको शिक्षक धनबहादुर गुरुङ्गले जानकारी दिनुभयो ।