Thaha

Saturday 21 September - 7:54 pm NST

आज उधौली, यमरी पुन्हि र क्रिसमस


काठमण्डौं, १० पुस । 
मंसिर शुक्ल पूर्णिमाका दिन आज योमह्री पुन्हिः पर्व मनाइँदैछ । काठमाडौँ उपत्यकाका नेवार समुदायले जाडोको समयमा चामलको पीठोबाट बनेको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा यो पूर्णिमा मनाउने गरिएको हो । आजको दिनलाई ज्यापू दिवस र धान्य पूर्णिमाका रुपमा समेत मनाउने गरिन्छ । पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुलपूजा, गोठपूजा र गैडु पूजा गरी धान्य पूर्णीमा मनाउने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

किराँत समुदायले आजै महान पर्व उद्यौली मनाउँदैछन् । किराँत भित्र पनि लिम्बू जातिले चासोक तङनाम, राईले साकेला, याख्खाले चासुवा र सुनुवारले फोल्स्यादर भनेर मनाउने गर्दछन् । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले उद्यौली र ज्यापु दिवसको अवसरमा सबैलाई शुभकामना दिनुभएको छ । 


यस्तै  क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सका अवसरमा आज नेपालमा पनि क्रिसमस पर्व मनाइँदैछ । दुुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो । मारियमको विवाह युसुफसँग गर्न लाग्दा स्वर्गदूतले भविष्यवाणी गरी येशुले जन्म लिन लागेको जानकारी गराएको र सर्वसाधारण मानिसलाई अन्याय, अत्याचार र विभेदबाट मुक्ति दिलाउनका लागि येशु आफैँ क्रसमा चढेको उनका अनुयायीको भनाइ छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । येशुले मानव समुदायका लागि पु¥याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ ।

क्रिसमस पर्वको अवसरमा शुभकामना दिदैं राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न मुलुकमा मनाइने यस्ता चाडपर्वले सामाजिक एवम् पारिवारिक जमघट गराउनुका साथै सामाजिक सद्भावलाई दिगो र दरिलो बनाउने उल्लेख गर्नुभएको छ । त्यस्तै प्रधानमन्त्री केपी ओलीले विभिन्न भाषाभाषी, जातजाति, धर्म र संस्कृतिले सुसज्जित मुलुकको गरिमा र पहिचान नै विविधतामा एकता भएकाले यस्ता पर्वले सामाजिक एकतामा सहयोग पुग्ने बताउनुभएको छ । क्रिसमसका अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ ।