Thaha

Wednesday 07 October - 9:10 pm NST

रोल्पा खुलादिशामुक्त र पुर्ण साक्षर जिल्ला घोषणा


मनिषा श्रेष्ठ, रोल्पा, ९ पुस । 
रोल्पालाई खुलादिशामुक्त र पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । आज एक समारोहकाबिच जिल्लालाई उपराष्ट्रपति नन्दबहादुर पुनले पूर्ण साक्षर र खुलादिशामुक्त घोषणा गर्नु भएको हो । घोषणासंगै  रोल्पा नेपालकै २८ औँ  खुलादिशामुक्त र २१ औँ पूर्ण साक्षर जिल्ला भएको छ । जिल्लाका ४९ गाबिस र एक नगरपालिकाका सबै घरधुरीमा शौचालय निर्माणसँगै प्रयोगमा आउन थालेपछि खुलादिशामुक्त भएको हो । त्यस्तै जिल्लाका ९७.२४ प्रतिशत जनसंख्या साक्षर भएपछि आज औपचारिक समारोहमा पुर्ण साक्षर घोषित भएको हो । 

जिल्ला खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति र जिल्ला अनौपचारिक शिक्षा समितिका अध्यक्ष स्थानीय बिकास अधिकारी गेहेन्द्र बहादुर डाँगीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  घोषणा कार्यक्रममा नेकपा एमाले सांसद गोकुलप्रसाद घर्ति, सांसद अमरसिंह पुन, प्रेस काउन्सील नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, खानेपानी तथा ढलनिकास बिभागका महानिर्देशक रामचन्द्र देवकोटालगायतको उपस्थिती थियो भने कार्यक्रममा दर्जनौ झाँकी तथा हजारौँको संख्या र्याली निकालिएको थियो ।

सदरमुकाम लिबांग टुँडिखेलमा सम्पन्न घोषणा कार्यक्रममा जिल्लाई खुलादिशामुक्त र पूर्ण सरसफाईयुक्त घोषणा अभियानमा सहयोग गर्ने बिभिन्न निकाय र ब्यक्तिहरुलार्य कदरपत्रसहित सम्मान गरिएको छ ।