Thaha

Saturday 21 September - 8:26 pm NST

चिसोको प्रभावः रोगीहरु बढे

काठमाण्डौं लगायत देशैभर चिसो बढेसँगै चिसोका कारण लाग्ने रोगका विरामी पनि बढ्दै गएका छन् । चिसो बढेसंगै देशैभरका अस्पतालहरुमा विरामीको संख्या बढेको छ । काठमाडौंको वीर अस्पतालका वरिष्ठ जनरल फिजीशियन डाक्टर विधानीधि पौडेलका अनुसार वीर अस्पतालमा मात्रै अघिपछि भन्दा चिसो बढेपछि दैनिक २० देखी ३० प्रतिशत बढी रोगीहरु उपचारका लागि आउने गरेका छन् । 

भुकम्पपिडीतहरु बढि प्रभावित

भुकम्पबाट विस्थापित भएर अस्थायी टहराहरुमा बस्दै आएकाहरु चिसोका कारण बढि प्रभावित भएका छन् । भुकम्पमा घर भत्किएपछि अहिलेपनि कैंयौ भुकम्पपिडीतहरु त्रिपालको ओच्छ्यान अनी बाँसको अस्थायी टहरा हालेर बसेका छन् । पिडीतहरु न्यानो कपडा, तातो खानेकुरा, चिसो थेग्ने ठाउँको अभावमा रात काटीरहेका छन् ।

कठ्याङग्रीदो चिसोका कारण अस्थायी टहरामा बसेका बालबालीका, बृद्धबृद्धा, सुत्केरी महिलाको स्वास्थ्य जोखिममा पर्दै गएको छ । बालबालीकाहरुमा धेरैजसो न्यूमोनीया, झाडाबान्ताको समस्या देखिएको छ भने बृद्धबृद्धाहरुमा हाडजोनी दुख्ने, बाथको समस्या देखिएको चिकित्सकहरु बताउंछन् । 
चिसोका कारण यस्ताखाले रोगहरुले बढि सताउंछन् 
जोडायाममा कठ्याङग्रीदो चिसो, तराईका जिल्लामा शितलहर बढेसँगै रोेगसँग लड्ने शक्ति कमजोर हुंदा ब्याक्टेरीयाहरुले छिट्ठै आक्रमण गर्छन् । निमोनिया, रुघाखोकी, झाडापखला, रक्तसंचार नहुने, बाथरोग र टाउँको दुख्ने लगायतका विरामीहरुको सँख्या बढेको छ । वीर अस्पतालका वरिष्ठ जनरल फिजीशियन डाक्टर पौडेलका अनुसार चिसोका कारण रुघाखोकी, निमोनीया, बाथ, स्वासप्रश्वास, भाईरलको जोखीम पनि बढ्ने गरेको छ ।

खानेपानीमा ध्यान नदिंदा झाडाबान्ताको पनि समस्या देखा पर्ने गरेको छ । यस्तैगरी ब्रोङकाईटिस, दम, चिसोको एलर्जी, छालाका रोगहरु, शरीर सुन्निने, पिनास, लगायतका समस्या देखिन्छन् । चिसोले मुटु, हाडजोनी, श्वासप्रश्वास, दमका पुराना रोगीहरुलाई धेरै असर गर्ने चिकित्सकहरु बताउँछन् । 
चिसोबाट बच्न चिकित्सकको सुझाव
चिसोबाट बच्न खानपान, ब्यायाम, आराममा नै ध्यान दिन आवश्यक छ । न्यानो कपडा लगाउन, पानी राम्ररी उमालेर खान, तातो खानेकुरा खान, सुत्दा टाउको ढाकेर सुत्नुपर्छ । बिहान बेलुका धेरै चिसो हुने हुंदा हिंड्दाखेरी नाकमुख ढाक्नेगरी माक्स लगाउन, व्यायाम गर्नु राम्रो हुन्छ ।

घाँटी, छाती, खुट्ठाबाट शरीरमा चिसो पस्नेछ गर्छ । त्यसैले घाँटी, छाती,  हातखुट्टा ढाक्नेगरी टोपी, गलबन्दी, स्वेटर, ज्याकेट, मोजा, पञ्जा जस्ता न्यानो कपडा लगाउन डा. पौडेलले सुझाब दिनुभयो । चिसो मौसममा निसास्एिर समस्या हुने र मानीसहरुको मृत्यु हुने सम्मको घटनाहरु हुने गरेका छन् । त्यसैले जाडोबाट बच्न आगो ताप्दा, घरका झ्यालढोका थुन्ने गरिन्छ । यसो गर्दा अक्सिजनको कमि हुन जान्छ, त्यसैले घरभित्र बस्दा घरका सबै झ्यालढोका बन्द गर्नपनि हुंदैन ।

चिसोमा घाम उत्तिकै प्रिय लाग्छ । चिकित्सकहरुले पनि जाडोयाममा घाम लागेका बेला सक्दो घाममा बस्न सुझाव दिएका छन् ।