Thaha

Saturday 21 September - 8:13 pm NST

पूर्णरुपमा घर भत्किएका भुकम्प पिडीतलाई २ लाख रुपँैया अनुदान दिने तयारी

काठमाण्डौं, पुस १ । सरकारले भूकम्पपछि पूर्ण रुपमा घर क्षति भएका परिवारलाई २ लाख रुपैयाँ अनुदान रकम दिने तयारी गरेको छ । भूकम्पबाट पूर्ण रुपमा क्षति भएका आवास पुननिर्माण अनुदान वितरण कार्यविधि २०७२ बनाएर सरकारले भुकम्प पीडितलाई २ लाख रुपैयाँ अनुदान दिने तयारी गरेको हो ।

कार्यविधि अनुसार पूर्ण रुपमा घर क्षति भएका भूकम्प पीडितले तीन किस्तामा रकम पाउनेछन् । पहिलो चरणमा ५० हजार, दोश्रो चरणमा १ लाख र अन्तिम किस्ता स्वरुप ५० हजार रुपैयाँ गरी २ लाख रुपैयाँ सरकारले दिने छ । भवन निर्माण विभाग अन्तर्गतको डिभिजन कार्यालयले उपलब्ध गराउने भूकम्प प्रतिरोधी घरका नक्सामध्येबाट पीडितले ढाँचा छान्नु पर्ने छ । छनौट गरिएको भवनको ढाँचा र प्रविधि वमोजिम भवन निर्माण गर्दा सरकारले उपलव्ध गराउने २ लाख रुपैयाँसम्मको सहायता रकम भन्दा वढी लाग्ने रकम भूकम्प पीडित आँफैले वेहोर्नु पर्नेछ । आफै व्यहोर्न नसक्ने भुकम्प पीडितका लागि ३ लाख रुपैयाँ सम्मको सहुलियत कर्जा भूकम्प पीडितको सामुहिक जमानीका आधारमा बैंकिङ्क प्रणालीबाट उपलब्ध गराउने भनिएको छ ।

कार्यविधि अनुसार अनुदान प्राप्त गरी भवन निर्माण गर्ने भुकम्प पीडितले न्यूनतम १० वाटको सोलारबत्ती जडान गर्नु पर्नेछ । कार्यविधि अनुसार अनुदान दिने आवासको लागि आवश्यक पर्ने जस्तापाता, सिमेन्ट, हुक, कब्जा जस्ता निर्माण सामाग्रीहरु स्थानीय बजारमा यथेष्ट मात्रामा उपलब्ध गराउन आवश्यक सहयोग र समन्वय सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सहयोगमा विभागहरु, डिभिजन कार्यालय, जिल्ला प्राविधिक कार्यालय र स्थानीय निकायहरुले गर्ने छन् । अन्य स्वदेशी वा विदेशी संघ संस्थाबाट भवन निर्माणका लागि पूर्ण अनुदान वा आवास भवन नै प्राप्त गरेका भुकम्प पीडितलाई कार्यविधि अनुसारको २ लाख रुपैयाँ अनुदान नदिने कार्यविधिमा लेखिएको छ ।

सरकारवाट उपलव्ध हुने सहायताको सम्पूर्ण रकम आवास भवन निर्माणको कार्यमा खर्च गर्नु पर्ने र यो भन्दा कम लागतका आवास भवन निर्माण गरेमा त्यही अनुसारको रकम मात्र अनुदान दिने कार्यविधिमा छ । सहरी विकास मन्त्रालयले बनाएको यो कार्यविधि अनुसार एक भन्दा धेरै घर भत्किएका भुकम्प पीडितले एक घरको लागि मात्रै अनुदान पाउनेछन भने एक घर भत्किएर अर्को सग्लै भएकाले अनुदान पाउने छैनन् ।