Thaha

Saturday 21 September - 9:24 pm NST

१० हजार राहत भूकम्पपीडितले अझै पाउन सकेन

काठमाडौं २६ मंसिर । चिसो मौसमका लागि भन्दै सरकारले भूकम्पप्रभावित नागरिकलाई दिने भनिएको राहत रकम अझै पीडितसम्म पुग्न सकेको छैन । 
त्रिपाल, जस्ताको टहरा र खरको छानोमुनी ओत लागिरहेका भूकम्पपीडितलाई १० हजार रुपैयाँ मंसिर महिनाभित्रै दिने मन्त्रिपरिषद्ले निर्णय गरेपनि अझै वितरण हुन नसकेको हो । मंसिर ८ गते बसेको मन्त्रिपरिषद् बैठकले तत्काल १० हजार रुपैयाँ पीडित नागरिकका लागि न्यानो कपडालगायत सामग्री किन्नका लागि दिने निर्णय गरेको थियो । गृहमन्त्रालयले भने प्रधानमन्त्री दैवी प्रकोप तथा उद्धार कोषबाट ६ अर्ब दुई करोड निकास भएको रकम प्रभावित जिल्लाहरुमा पठाइसकेको जनाएको छ । 

भूकम्पपीडित

गृहमन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका प्रमुख रामेश्वर दंगालले प्रधानमन्त्री उद्धार कोषबाट निकासा भएको रकम २१ जिल्लामा पठाइसकेको र ती केही जिल्लामा वितरण सुरु भइसकेको थाहा सञ्चार नेटवर्कसँग दाबी गर्नुभयो ।  तर, पीडितहरुले भने अझै रकम नपाएको गुनासो गरेका छन् । 
यसअघिको सरकारले बर्खालाई लक्षित गरेर भूकम्पपीडित नागरिकका लागि प्रतिपरिवार १५ हजार रुपैयाँ दिएको थियो । त्यस आधारमा अहिले ६ लाख दुई हजार नागरिकलाई सरकारले राहत वितरण गर्नुपर्नेछ ।