Thaha

Saturday 21 September - 9:17 pm NST

राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका दिवस मनाइदै

काठमाडौं १९ मंसिर । १२ औं राष्ट्रिय महिला स्वास्थ्य स्वयमसेविका दिवस आज विभिन्न कार्यक्रम गरि मनाइदै छ । नेपालमा हरेक वर्षको डिसेम्बर पाँच तारिखको दिन यो दिवस मनाउने गरिएको छ ।

यस वर्ष पनि दिवसको नारा ‘महिला स्वास्थ्य स्वयमसेविकाको सेवा, स्वास्थ्य समाजको लागि टेवा’ राखिएको छ । दिवसको अवसरमा शुभकामना सन्देश दिदै स्वास्थ्य तथा जनसंख्या मन्त्री रामजनम चौधरीले महिला स्वास्थ्य स्वयमसेविकाको सेवाको प्रसंसा गर्नुभएको छ ।

नेपालमा विसं २०४५ सालदेखि शुरु भएको महिला स्वास्थ्य स्वयमसेविका कार्यक्रम अन्र्तगत हाल देशभर ५२ हजार महिला स्वास्थ्य स्वयमसेविका कार्यरत छन । काम अनुसार आर्थिक सहयोग नहुँदा उनीहरुको अवस्था भने सवल बन्न सकेको छैन ।

परिवार नियोजन, झाडापखाला, श्वासप्रश्वास सम्बन्धि रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता महत्वपूर्ण काममा स्वयमसेविकाको महत्वपूर्ण भूमिका रहदै आएको छ ।

यसैबीच आजै अन्तर्राष्ट्रिय स्वयससेवक दिवस पनि विभिन्न कार्यक्रम गरि मनाइदै छ । युवाहरुलाई स्वयमसेवामा केन्द्रीत गर्ने उद्येश्यले राष्ट्रसंघको आव्हानमा हरेक वर्षको डिसेम्बर ५ तारिखमा यो दिवस मनाउने गरिन्छ । राष्ट्रसंघका महासचिव बानकी मुनले दिवसको अवसरमा शुभकामना दिदै आपत विपतमा परेकालाई स्वयमसेवाको खाँचो रहेको भन्दै त्यसकालागि प्रतिबद्ध हुन आग्रह गर्नुभएको छ ।