Thaha

Saturday 21 September - 11:43 pm NST

तीन हप्तामा उपचार ठप्प


काठमाडौं, मंसिर २ । नेपाल चिकित्सक संघले अहिलेकै अवस्था तीन हप्तासम्म कायम रहे औषधीको अभावमा उपचार सेवा ठप्प हुने चेतावनी दिएको छ । रेडियो थाहा सञ्चारको कार्यक्रम द न्यूज प्लसमा कुरा गर्दै संघका अध्यक्ष डा. अञ्जनी कुमार झाले औषधी, रगत राख्ने झोला  लगायत अन्य अत्यावश्यक उपकरणको अभावमा निक्कै समस्या पर्दै गएको र तीन हप्ता भित्रमा आयात नभए विरामीको उपचार गर्न नसकिने बताउनुभयो ।

स्वास्थ्यलाई संवेदशन क्षेत्रमा राखिए पनि सरकार र  सम्बन्धित निकायबाट पहल हुन नसकेको उहाँको भनाई छ । उपचारका लागि आवश्यक पर्ने सामाग्रीको विवरण स्वास्थ्य मन्त्रालयलाई बुझाएको धेरै समय भइसक्दा पनि सुनुवाई नभएको डाक्टर झा ले बताउनुभयो ।

नेपाल औषधी व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले भने औषधी आपूर्तिका लागि प्रयास जारी रहे पनि सम्बन्धित निकायको असहयोगका कारण प्रयाप्त हुन नसकेको बताउनुभयो ।

उहाँले विरगञ्जको रक्सौल नाकामा ३ सय ५० वटा औषधि बोकेका ट्रक रोकिएको, इन्धनको अभावमा विरगञ्जमा भण्डारण गरिएको अ‍ैषधी सम्बन्धित ठाउँमा लैजान नसकिएको र बंगलादेश, पाकिस्तान लगायत अन्य तेस्रो मुलुकबाट औषधी आयात गर्ने अनुमति नपाउँदा समस्या भएको बताउनुभयो ।

५५ प्रतिशत औषधी भारतबाट, ५ प्रतिशत तेस्रो मुलुकबाट र बाँकी ४० प्रतिशत आन्तरिक उत्पादन हुने भए पनि कच्चा पदार्थको अभावमा आन्तरिक उत्पादन ठप्प जस्तै भएको छ भने अन्य मुलुकबाट पनि औषधी आयात हुन नसकेको संघका अध्यक्ष श्रेष्ठको भनाई छ ।