Thaha

Saturday 21 September - 11:32 pm NST

भारतको उत्तरप्रदेशमा २० हजार भारतीयसँग नेपाली नागरीकता

काठमाण्डौं, मंसीर १ । भारतीय नागरिकले नेपाली नागरिकता लिएको विषयमा चर्को आवाज उठिरहेका बेला भारतीय पत्रिकाले नै भारतीय नागरिकले नेपाली नागरिकता लिएको खुलासा गरेको छ ।  उत्तर प्रदेशको महाराजगञ्ज जिल्लाका ४० गाउँमा बस्ने झण्डै २० हजार व्यक्तिसँग नेपाली नागरिकता रहेको भारतीय सञ्चार माध्यमले दावी गरेका छन् ।

भारतबाट प्रकाशित हुने नवभारत टाइम्सले  नेपालसँग सीमा जोडिएको महाराजगंज जिल्लाको सुनौली गाविसमा मात्रै एक हजार भारतीयले नेपाली नागरिकता बोकेर हिडेको आज समाचार छापिएको छ । सुनौली गाविसका धेरैले रुपन्देहीको बेलहिया र भैरहवा निवासी भनेर नागरिकता लिएका समाचारमा उल्लेख छ ।  नबभारत टाईम्सले नेपाल र भारतको दोहोरो नागरिकता भएका व्यक्तिको लोकसभा, विधानसभा र गाउ पञ्चायतदेखि जिल्लापञ्चायत र क्षेत्र पञ्चायतमा दवदवा बढिरहेको उल्लेख गरेको छ ।

अर्को महिना हुने स्थानीय चुनावमा नेपाली नागरिकतासमेत भएका २० हजार व्यक्तिले चुनाव आयोगलाई समस्यामा पार्न सक्ने समाचारमा उल्लेख छ । तर, मताधिकारको प्रमाणपत्र भए चुनावमा रोक्न नसकिने भन्दै पछि अनुसन्धानका लागि आदेश मात्रै दिन सकिने पत्रिकाले लेखेको छ ।

महाराजगञ्ज जिल्लाको ८० किलोमिटर सिमा नेपालसित जोडिएको छ । सिद्धार्थनगर, बलरामपुर, बहराइच, गोण्डा र लखीमपुरमा पनि थुप्रै भारतीयले नेपाली नागरिकता लिएको समाचारमा उल्लेख छ ।