Thaha

Saturday 21 September - 11:50 pm NST

आज भाइटिका । उत्तम साइत बिहान ११ बजेर ५५ मा

काठमाडौं २७ कार्तिक । यमपञ्चक अन्तरगत तिहारको पाँचौँ दिन आज भाइटीका, दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई पञ्चरङ्गी टीका लगाउने गर्छन् ।

दिदीबहिनीलाई पूजा गरी  अखण्ड सौभाग्य, सुखद् दाम्पत्य जीवन र ऐश्वर्य वृद्धिका लागि आशीर्वाद दिने शास्त्रीय विधान रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो ।  आज भाइटीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको पनि उहाँले बताउनुभयो ।

त्यसअघि बारबेलाअनुसार कालबेला परेकाले कालबेला कटाएर शुभबेलाको साइत निकाल्दा साइत ढिला भएको समितिले जनाएको छ । “मध्याह्न कालमा अभिजित् नामको शुभ मुहूर्त दिइएको छ”–उहाँले भन्नुभयो । यस वर्ष  टीका लगाइदिने दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्कनुपर्नेसमितिले जनाएको छ ।

अहिले चन्द्रमा उत्तरमा रहेकाले आशीर्वाद दिने मानिसको दाहिने पार्नका लागि यस्तो निर्णय गरिएको हो ।     “सप्तरङ्गी टीका भनी विभिन्न ढङ्गले प्रचार प्रसार गरिए पनि तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा भनी शास्त्रमा उल्लेख गरिएको छ”–समितिका अध्यक्ष गौतमले भन्नुभयो ।

 आजका दिन दिदीबहिनी र दाजुभाइ नहुनेले धर्मदिदी बहिनी बनाएर पनि भाइटीका लगाउनुपर्छ भन्ने शास्त्रीय मान्यता समेत  छ ।  दिदीबहिनी नहुनेका लागि हरेक वर्ष आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा सामुहिक टिका  लगाउने चलन रहेपनि भूकम्पले क्षतिग्रस्त भएकाले यो काम त्यहाँबाट रोकिएको छ ।

आज काठमाडौंको हनुमानढोका नजिक पाल टाँगेर सामुहिक टिका लगाउने कार्यक्रम राखिएको छ ।