Thaha

Saturday 21 September - 11:43 pm NST

कृषिजन्य बस्तुमा आत्मनिर्भर बन्नेगरी योजना बनाउने कृषि मन्त्रालयको तयारी

काठमाडौं, १९ कार्तिक । नेपालमा आत्मनिर्भरका लागि सम्भावना भएपनि धेरै कृषिजन्य बस्तु आयात गर्नुपर्ने बाध्यतालाई हटाउन कृषि बिकास मन्त्रालयले नयाँ योजना बनाउने भएको छ । कृषिमन्त्री हरिबोल गजुरेलले मन्त्रालय र नेपाल कृषि अनुसन्धान परिषद् नार्कका वरिष्ठ अधिकारी तथा वैज्ञानिकहरुसंग प्रचारमुखी भन्दापनि परिणाममुखी काम गर्न नयाँ योजना बनाउन निर्देशन दिनु भएको छ ।

तत्काल काम थालेमा अबका केही वर्षभित्रमा कृषिजन्य धेरै बस्तुमा आत्मनिर्भर बन्न सकिने भएकाले उद्देश्य प्राप्तीमा लाग्न मन्त्री गजुरेलले जोड दिनुभयो । नेपाल कृषि अनुसन्धान परिषद्का वरिष्ठ वैज्ञानिक रामबहादुर केसीले मकै आलु, प्याज लगायतका तरकारी तथा खाद्यान्नमा छोटो समयमै आत्मनिर्भर बन्न सकिने बताउनु भयो । उहाँले भट्टमास, लसुन, धनिया, खुर्सानी, मेवा, नासपती, स्याऊ लगायतका खाद्यान्न,  फलफुल तथा तरकारीमा योजनावद्ध काम थालेको छोटो समयमै आत्मनिर्भर बन्न सकिने बताउनु भयो ।

आत्मनिर्भर बन्नका लागि भातको विकल्पमा स्थानीय उत्पादनको विकल्पलाई व्यवहारमा लागु गर्न सकिएको खण्डमा नेपालले करोडौं रुपैयाँ बचत गर्न सक्ने कृषि वैज्ञानिकहरुले जोड दिएका छन । पछिल्लो समय पहाडी क्षेत्रमा मकै, भट्टमास, जौं, गहुँ, कोदो, फापर लगायतका स्थानीय उत्पादन घट्दैं गएका छन । नेपाललाई कृषिजन्य बस्तुमा आत्मनिर्भर बनाउनका लागि खानपान सम्बन्धी बानीव्यहोरामा परिवर्तन गर्नु आवश्यक रहेकोमा कृषि वैज्ञानिकहरुले जोड दिएका छन ।