Thaha

Saturday 21 September - 11:51 pm NST

पुष्प प्रतियोगिता तथा महोत्वस आजदेखि ललितपुरमा शुरु

काठमाडौं, १९ कार्तिक । नवौं गोदावरी पुष्प प्रतियोगिता तथा महोत्वस आजदेखि ललितपुरमा शुरु हुँदै छ । कृषि विकास मन्त्रालयको सहयोगमा फ्लोेरिकल्चर एशोसिएसन नेपाल फ्यानले महोत्सवको आयोजना गरेको हो ।

जावलाखेलको खेलमैदानमा संचालन हुने महोत्सवको उद्घाटन कृषि मन्त्रालयका सचिव उत्तमकुमार भट्टराइले बिहान ११ बजेपछि गर्नुहुने छ । महोत्सवमा व्यवसायीक ३३,  सूचना मुलक ३ र प्रतियोगितात्मक १० वटा स्टल रहने फ्यानका महासचिब दिलिप बादेले जानकारी दिनुभयो । महोत्सवमा गोदावरी फूलका एक सय र अन्य फूलका २ सय ५० गरी ३ सय ५० प्रजातिका फूलहरु राखिने उहाँले बताउनुभयो ।  आगामी २२ गतेसम्म चल्ने महोत्सवको नारा ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने रहेको छ ।

प्रतिस्पर्धामा प्रथम, द्वितीय तथा तृतीय घोषणा गरि शिल्ड, नगद तथा प्रमाण पत्र प्रदान गरिनेछ । नेपालमा सन् १९५० बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय शहरीकरणको विकाशसंगै काठमाडौँ मात्र नभएर पोखरा, नारायणघाट, हेटौँडा, विराटनगर, धरान, धनगढी लगायतका सहरहरुमा पनि फैलिएको छ ।  

फ्यानका अनुसार गत आर्थिक वर्षमा १ अर्व २७ करोड ७५ लाख भन्दा बढिको फुलको कारोबार भएको थियो ।