Thaha

Sunday 22 September - 1:49 am NST

नेपालमा मौसमको भविष्यवाणी गर्न प्रविधि र दक्ष जनशक्तिको अभाव

अभिराज ओली । काठमाडौं, १६ कार्तिक । मौसमको भविष्यवाणी गर्न प्रविधि र दक्ष जनशक्तिको अभाव भएकाले जल तथा मौसम विज्ञान विभागले २४ घन्टा भन्दा बढीको मौसमको भविष्यवाणी गर्न सकेको छैन । भविष्यवाणी गर्दा स्थानीय मौसमी केन्द्रको रिपोर्ट, भारत र चीनका स्याटेलाईट तस्वीर र मौसमपूर्वानुमानको सहायता लिनुपर्ने बाध्यता रहेको मौसमविद्हरुले गुनासो गरेका छन ।

शक्तिशाली रडार, बेलुन लगायतका नयाँ प्रविधि भित्राउन नसक्दा भारत र चीनका स्याटेलाइट तस्वीरको सहायतामा मौसमको भविष्यवाणी गर्नुपर्ने अवस्था आएको मौसमविद् मीनकुमार अर्यालले बताउनु भयो । विभागले भारतको मौसमी भविष्यवाणीबाट नेपालको भौगोलिक अवस्था मिल्ने अरुणाञ्चल प्रदेश, हिमाञ्चल र जम्मु काश्मीरको मौसमी अवस्थाका विषयमा अध्ययन गरेर नेपालको तीनदिनसम्मको मौसमी भविष्यको अनुमान लगाउने गरेको छ । प्रविधिको अभावमा वायु मण्डलको भर्टिकल प्रोफाईल अध्ययन गर्न नसकिने भएकाले लामो समयको भविष्य वाणी गर्न कठिनाई भएको हो । त्यसका लागि रडार र बेलुनको सहायता लिने तयारी भैरहेको छ ।

सुर्खेत, नलवपरासी र उदयपुरमा शक्तिशाली रडार राख्ने तयारी भएको विभागले जनाएको  छ । त्यस्तै काठमाडौंको किर्तिपुरमा बेलुन राख्ने तयारी भएको छ । रडारले डेढ सय दुरीको रेनफल, बादलको अध्ययन गर्नेछ । त्यस्तै काठमाडौंको किर्तिपुरमा राख्न लागिएको बेलुनले हावाको गति, सापेक्षित आद्रता, तापक्रम लगायतका कुराको जानकारी दिनेछ । जलवायु परिवर्तनको मुद्दाले मौसम विज्ञानको अध्ययन गर्ने बढेपनि नयाँ नयाँ प्रविधिको ज्ञान हासिल गर्ने जनशक्ति नभएको मौसमविद् अर्यालले बताउनु भयो ।  

अहिले भएको जनशक्ति पनि तालिमको अभावमा नयाँ प्रविधि मैत्री छैन । जल तथा मौसम विज्ञान विभागले अहिले नेपालका विभिन्न १६ वटा मौसमी केन्द्रबाट काम गरिरहेको छ । आधुनिक प्रविधिको कमी, दक्ष जनशक्तिको अभाव र भविष्यवाणीका लागि अरुको स्याटेलाईट तस्वीर तथा भविष्यवाणीको सहारा लिनुपर्ने बाध्यताले नेपालको भविष्यवाणी प्रभावकारी बन्न सकेको छैन । भारतले कम्तिमा एकहप्तासम्मको भविष्यवाणी गर्छ भने चीनले झण्डै एकमहिनासम्मको भविष्यवाणी गर्ने गरेको छ  ।