Thaha

Sunday 22 September - 2:01 am NST

पेट्रोल लिएर १२ वटा ट्याङ्कर बेलुकी सम्म काठमाडौं आइपुग्ने

काठमाडौं, १६ कार्तिक । चीनको केरुङबाट पेट्रोल लिएर आएका १२ वटा ट्याङ्कर आज बेलुकी सम्म काठमाडौं आइपुग्ने भएका छन् । हिजै रसुवागढी नाका प्रवेश गरेका ट्याङकर आज विहानै काठमाडौंका लागि प्रस्थान गरिसकेको नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार १२ वटा ट्याङ्करमा ल्याइएको ७३ दशमलब ५ मेट्रिक टन पेट्रोल निगमको थानकोट डिपोमा भण्डारण गरिनेछ । निगमले १२ हजार लिटर क्षमताका ट्याङ्कर पठाएपनि बाटोको खराब अवस्थाका कारण गाडिमा क्षमता भन्दा कम पेट्रोल लोड गरिएको छ ।

हिजो रसुवागढी पुगेका थप तीनवटा ट्याङ्कर पनि आजै केरुङमा तेल भरेर नेपाल प्रवेश गर्ने निगमले जनाएको छ । पेट्रोल लिनका लागि निगमले आज थप २२ वटा ट्याङ्कर काठमाडौंबाट केरुङ पठाउने निगमको थानकोट डिपोका प्रमुख रबिनकुमार शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार आज जाने ट्याङ्करहरु लोड भएर भोलीसम्म काठमाडौं भित्रिसक्नेछन् । भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव चुलिएपछि चीनले नेपाललाई एक हजार मेट्रिकटन पेट्रोल अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो । अब लगातार ट्याङ्कर पठाएर अनुदानको पेट्रोल भित्र्याउने निगमले जनाएको छ ।