Thaha

Sunday 22 September - 1:40 am NST

चीनले अनुदानमा दिएको इन्धन लिन निगमले आज ट्याङ्कर केरुङ्ग पठाउने

काठमाडौं, १३ कार्तिक । चीनले अनुदानमा दिन लागेको इन्धन लिनका लागि नेपाल आयल निगमले आज ट्याङ्कर पठाउने भएको छ । १२ हजार लिटर क्षमताका १२ वटा ट्याङ्कर रसुवाको चीन सीमावर्ती केरुङ नाका पठाउन लागिएको निगमले जनाएको छ । चीनले दिने पेट्रोलियम पदार्थ आज दिउँसो सम्म केरुङ आइपुग्ने र नेपाली ट्याङकरमा लोड गरेर काठमाडौं ल्याइने निगमका प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो ।

आइतबारसम्म तेल बोकेका ट्याङ्कर काठमाडौं आइसक्ने उहाँले बताउनुभयो । पहिलो खेप आइसकेपछि क्रमशः अरु ट्याङकर पठाएर इन्धन ल्याउने निगमको तयारी छ । चीनले अनुदानमा दिएको इन्धन भारतबाट आउने भन्दा गुणस्तरीय मानिने युरो ४ गुणस्तरको हो । अनुदानको इन्धन अहिलेकै दररेटमा सर्वसाधारणलाई वितरण गर्ने निगमले जनाएको छ ।

भारतको अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभाव चुलिएपछि चीनले १३ लाख लिटर पेट्रोल अनुदान दिने घोषणा गरेको थियो ।  नेपाल र चीनबीच गत बुधबार ब्यापारीक रुपमा इन्धन खरिद गर्ने औपचारिक सम्झौता पनि भइसकेको छ । सम्झौता अनुसार अब नेपालले कूल खपतको ३३ प्रतिशत इन्धन चीनबाट ल्याउने छ ।