Thaha

Sunday 22 September - 1:48 am NST

धनुषाको ढल्केवरमा प्रहरी र आन्दोलनकारीबीच झडप

धनुषा, ७ कात्तिक । धनुषाको ढल्केवरमा प्रहरी र आन्दोलनकारीबीच गएराति झडप भएको छ । झडपका क्रममा प्रहरीले गरेको लाठी र गोली प्रहारबाट कम्तीमा ११ जना आन्दोलनकारी घाइते भएका छन् । राति करिब २ बजे प्रहरीले यात्रुबाहक बस र विभिन्न मालबाहक गाडी स्कर्टिङ गरेर गन्तब्य तफ लैजाँदै गर्दा मधेसी मोर्चाका कार्यकर्ताले ढुङ्गा हानेको प्रहरीले जनाएको छ ।

गाडीमाथि ढुङ्गा प्रहार भएपछि प्रहरीले ३० राउण्ड हवाई फायर गरेको थियो । घाइतेमध्ये अधिकांशको शरीरमा गोलीको छर्रा लागेको छ । आन्दोलनकारीले केही सवारीसाधनमा पेट्रोल बमसमेत हानेको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रामदत्त जोशीले प्रदर्शनकारीले दुई वटा बसको सिसा फुटाइदिएको जानकारी दिनुभयो । ढुङ्गा लागेर एक जना चालकको टाउकोमा चोट लागेको छ भने एक महिला यात्रु घाइते भएका छन् ।