Thaha

Sunday 22 September - 1:35 am NST

आज विजया दशमी, मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरिँदै


काठमाडौ, ५ कात्तिक । आज विजया दशमी, अर्थात टीका लगाउने दिन । मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी देशभर हर्षोल्लासका साथ विजयादशमी मनाइँदैछ ।

हिन्दु नेपालीको महान चाड विजयादशमीमा आश्विन शुक्ल प्रतिपदामा घटस्थापनासहित जमरा राखी नवमीसम्म दुर्गा सप्तसती (चण्डी) पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा सहित प्रसादका रुपमा टीका जमरा ग्रहण गरिन्छ ।

आज विहान १०ः४५ बजे देवी विसर्जन र १०ः५५ बजे टीकाको शुभसाइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष महानवमी र दशमी (विजयादशमी) एकै दिन परेको छ । महानवमीको पूजापाठ सकेर विजयादशमीको टीका ग्रहण समितिले आग्रह गरेको छ । देश विदेशमा रहेका केही क्षेत्रका नेपालीले भने विहानै टीका लगाएका छन् ।

 विदेशमा बस्ने नेपालीले टीका ग्रहण गरी सामाजिक सञ्जालमा तस्विर राखेका छन भने स्वदेशमा रहेका नेपाली विहानै घरमा टीका लगाएर मान्यजनको हातबाट टीका ग्रहण गर्न आवत जावत गरिरहेका हाम्रा सहकर्मीहरुले जनाएका छन् । भुकम्प र भारतीय नाकाबन्दीका कारण यसपालिका दशैं पोहोर परार जस्तो भने छैन् ।

दसैँमा नवीन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ । दसैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ ।