Thaha

Saturday 21 September - 10:56 pm NST

अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस आज

काठमाडौं, ३० असोज । अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी मनाईँदैछ । सरकारी स्तरमा भने सहकारी तथा गरिवी निवारण मन्त्रालयले आज शनिबार परेकाले कुनै औपचारिक कार्यक्रम राखेको छैन । संयुक्त राष्ट्रसंघले सन् १९९३ देखि हरेक बर्ष अक्टोबर १७ तारिखलाई अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस मनाउँदै आएपनि नेपालमा भने यो दोस्रो पटक मनाउन लागिएको हो ।

नेपालमा अझै पनि कूल जनसंख्याको २३ दशमलब ८ प्रतिशत नागरिक गरिबीको रेखामुनी रहेका छन् । गरीबको पहिचान गरी उनीहरुलाई परिचयपत्र वितरणको तयारी भइरहेको मन्त्रालय अन्तर्गत गरिवी निवारण महाशाखाका प्रमुख सुरेश प्रधानले जानकारी दिनुभयो । सरकारले २५ जिल्लाका १२ लाख ४० हजार ३ सय ५० घरधुरीबाट ३ लाख ५६ हजार ४ सय १८ घरधुरी गरीव रहेको तथ्याङ्क निकालेको छ ।

दशैं तिहार लगत्तै सम्बन्धित ठाउँमै पुगेर सार्वजनिक सुनुवाइ गरी गरीबहरुको अन्तिम तथ्याङ्क तयार पार्ने र गरीवको परिचयपत्र वितरण गर्ने महाशाखा प्रमुख प्रधानले बताउनुभयो । परिचयपत्र दिँदा अति गरीब, गरीब र गरीबीको जोखिममा रहेका गरी तीन समूहमा विभाजन गरिने उहाँले जानकारी दिनुभयो । संयुक्त राष्ट्रसंघले सन् २०३० सम्म विश्वबाट सबैखाले गरीबीको अन्त्य गर्ने लक्ष्य लिएको छ ।