Thaha

Saturday 21 September - 11:15 pm NST

आयल निगमको प्रयास यस्तो

काठमाडौं, २८ असोज । नेपाल आयल निगमले दशैं अघि एक पटक निजी गाडिलाई पेट्रोलियम पदार्थ उपलब्ध गराउने प्रयास थालेको छ । तर हिजोदेखि भारतले तेल दिन कडाइ गरेकाले समस्या भएको निगमका प्रवक्ता दीपक बरालले बताउनुभयो ।

रक्सौल बाहेकका सबै नाकामा आपूर्ती सहज भएपनि भारतीय आयल निगमका डिपोहरुले तेल नभरिदिएपछि इन्धनका पर्याप्त गाडि भित्रन सकेका छैनन् । ‘दशैंमा घर जानेलाई सहज होस् भनेर फेरि एकपटक निजी गाडिलाई इन्धन दिने हाम्रो तयारी हो, प्रवक्ता बरालले भन्नुभयो, तर भारतले फेरि लोडिङमै कडाई गरेपछि अब दिन सकिने नसकिने टुंगो छैन ।

’ अहिले तेल लिन गइरहेका मध्ये १० प्रतिशत मात्रै ट्याङ्कर लोड भइरहेको निगमले जनाएको छ । भारतले सहज रुपमा इन्धन दिएपनि रक्सौल नाका सहज नभएसम्म तेल पर्याप्त नहुने प्रवक्ता बरालले बताउनुभयो । निगमले पेट्रोल दिन रोकेको झण्डै दुई साता पछि गत मंगलबार निजी मोटरसाइकललाई ५ र चारपाङ्ग्रे गाडीलाई १५ लिटरका दरले पेट्रोल वितरण गरेको थियो ।  लाइनमा बसेका धेरैले तेल नपाएकाले फेरि एकपटक वितरण गर्ने तयारी गरिएको निगमले जनाएको छ ।