Thaha

Saturday 21 September - 11:14 pm NST

नीजि गाडिलाई पेट्रोलियम पदार्थ वितरण आजदेखि सुरु

काठमाडौं, २६ असोज । नेपाल आयल निगमले आज काठमाडौं उपत्यकाका सबै पेट्रोल पम्पबाट नीजि गाडिलाई पेट्रोलियम पदार्थ वितरण गर्ने भएको छ । दशैंलाई लक्षित गर्दै निगमले झण्डै १ सय ४० वटा पम्पबाट पेट्रोलियम पदार्थ वितरण गर्न लागेको हो । मोटरसाइकलले ५ लिटर र चारपाङ्ग्रे गाडीले १५ लिटरका दरले पेट्रोल पाउने निगमले जनाएको छ । विहान ११ बजे थानकोट डिपोबाट तेल दिन सुरु गर्ने र सबै पम्पबाट दिउँसो २÷३ बजेदेखि एकै पटक वितरण गर्ने निगमको तयारी छ ।

एक ठाँउमा तेल भरेकाले अर्को ठाँउमा गएर भर्न पाउने छैनन् । तेल भर्न आउँदा अनिवार्य सवारीको ब्लुबुक बोकेर आउन निगमले आग्रह गरेको छ । झण्डै दुई सातापछि निजी गाडिलाई पेट्रोलियम पदार्थ वितरण गर्न लागेकाले काठमाडौंका सबै पेट्रोल पम्पमा गाडि र मोटरसाइकलको हिजैदेखि लामो लाइन लागेको छ । तर माग भन्दा झण्डै ७ गुणा कम पेट्रोल वितरण गर्न लागिएकाले लाइनमा बसेका सबैले पेट्रोल नपाउने निगमका प्रवक्ता दीपक बरालले बताउनुभयो ।

काठमाडौं उपत्यकामा अहिले झण्डै ४० लाख लिटर पेट्रोलको माग भएपनि आज ६ लाख लिटर मात्रै वितरण गर्न लागिएकाले सबैले पाउने अवस्था नहुने उहाँको भनाई छ । आपूर्ती सहज हुन नसके दशैं अगाडि फेरि निजी गाडिलाई पेट्रोलियम पदार्थ दिन नसकिने बरालले बताउनुभयो । पर्साको वीरगंज नाका सहज नभएसम्म पर्याप्त आपूर्ती हुन नसक्ने निगमले जनाएको छ ।