Thaha

Saturday 21 September - 10:52 pm NST

इन्धन लिन आज झण्डै डेढ सय ट्याङ्कर भारत जादैं

काठमाडौं, २५ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ लिन आज झण्डै डेढ सय वटा ट्याङ्कर भारत पठाउने भएको छ । भारतीय आयल निगमले पेट्रोलियम पदार्थ लिनका लागि बोलाएपछि ट्याङ्कर पठाउन लागिएको नेपाल आयल निगमका प्रवक्ता दिपक बरालले जानकारी दिनुभयो ।

अघोषित नाकाबन्दी गर्दै आएको भारतले नेपालमा प्रधानमन्त्री फेरिएसँगै पेट्रोलियम पदार्थको आपूर्ती केही सह जगर्ने संकेत हिजो नै दिएको थियो । तर नाकाहरुमा मधेश केन्द्रित दलको अवरोध यथावत रहेकाले पेट्रोलियम पदार्थको आपूर्ती सहज नहुने निगमले जनाएको छ ।

भोली एक दिन निजी गाडिलाई पनि पेट्रोलियम पदार्थ दिने निर्णय गरेको निगमलाई भारतले पेट्रोलियम पदार्थ लिन बोलाएपछि भने केही सहज हुने भएको छ । निगमले भोली एक दिन मात्रै काठमाडौं उपत्यकाका सबै पेट्रोल पम्पबाट मोटरसाइकललाई ५ लिटर र चारपाङ्ग्रे गाडिलाई १५ लिटर पेट्रोल उपलब्ध गराउनेछ । त्यसपछि पेट्रोलियम पदार्थको आपूर्ती हेरेर निर्णय गर्ने प्रवक्ता बरालले बताउनुभयो ।

यसैबीच निगमले इन्धन आपूर्तीका लागि गरेको ग्लोबल टेण्डरका बिषयमा लागत विश्लेषण गरेर मात्रै निर्णय गर्ने जनाएको छ । त्यसका लागि अझै २÷४ दिन लाग्ने प्रवक्ता बरालले बताउनुभयो । तत्काल काठमाडौंमा पेट्रोलियम पदार्थ आपूर्तीका लागि निगमले माग गरेको अन्तर्राष्ट्रिय टेण्डरमा २० वटा प्रस्ताव परेको छ ।