Thaha

Saturday 21 September - 11:17 pm NST

नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट दिदैं

काठमाडौं, २४ असोज । नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट दिदैछ । बैंकले गतवर्षको तुलनामा यो वर्ष १८ प्रतिशत अर्थात १० अर्ब रुपैयाँ भन्दा बढी नयाँ नोट साट्न लागेको हो । चाड पर्वमा पूजाका लागि प्रयोग हुने भेटी तथा आफन्तलाई दिने दक्षिणामा नेपाली हिन्दु धर्माबलम्बीले नयाँ नोटको प्रयोग गर्ने परम्परागत प्रचलनलाई ध्यान दिएर यस वर्ष ५७ अर्ब ८५ करोड ५० लाख रुपैयाँ बजारमा पठाइएको बैंकले जनाएको छ ।

बैंकले गत वर्ष ४७ अर्ब ४१ करोड ९० लाख बजारमा प्रवाह गरेको थियो । गत वर्षको तुलनामा यस वर्ष माग बढी हुने अनुमानका आधारमा नयाँ नोटको प्रवाह बढी गरिएको होे । नेपाल राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पङ्गेनीका अनुसार नेपाल राष्ट्र बैंक , वाणिज्य बैंक, विकास बैंक तथा वित्तीय संस्थाबाट पनि नागरिकले नयाँ नोट पाउने छन् ।

राष्ट्र बैंककै सटही केन्द्रबाट नयाँ नोट लिन चाहने नागरिकले एक व्यक्तिले २२ हजारसम्मको नयाँ नोट साट्न पाउने छन् । नोट साट्नको लागि राष्ट्रबैंक थापाथलीमा लामो लाइन लागेको छ । निजामति, सैनिक, प्रहरी सशस्त्रका कर्मचारीका लागि आवश्यक पर्ने नयाँ नोटका सम्बिन्धित कार्यालयको पत्रका आधारमा आवश्यक नयाँ नोटको प्रबन्ध गर्ने व्यवस्था मिलाइएको प्रवत्ता पङ्गेनीले जानकारी दिनुभयो ।