Thaha

Saturday 21 September - 7:33 pm NST

इन्धन अभावका कारण पर्याप्त गाडि नचल्दा दशैंमा घर जाने नागरिक समस्यामा

अभिराज ओली । काठमाडौं, २१ असोज ।  इन्धन अभावका कारण पर्याप्त गाडि नचल्दा दशैंमा घर जाने नागरिक समस्यामा परेका छन् । साविक ८ हजार भन्दा बढी गाडि काठमाडौंबाट बाहिरिने भएपनि पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ६२ सवारी साधनमा ३३ हजार २ सय ३९ जना बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सोही अवधिमा ३ हजार ५ सय ३२ सवारीबाट २९ हजार ६ सय ४० यात्रु काठमाडौं आएका छन् । दशैं नजिकिए पनि निकै कम मात्रै सवारी साधन चलेकाले यात्रु मारमा परेका हुन् । दशैंमा झण्डै १५ लाख मानिस काठमाडौं उपत्यकाबाट बाहिरने गर्छन् । यसैबीच बितेको २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ४ सय १६ सवारीका चालक कारवाहीमा परेका छन् ।

त्यसमध्ये सबैभन्दा धेरै मादक पदार्थ सेवन गरेर सवारी चलाउने ५८ जना रहेको महाशाखाले जनाएको छ । कारवाहीबाट २ लाख ५२ हजार ६ सय ७५ रुपैयाँ राजश्व संकलन भएको छ । गाडिले बढी भाडा लिएमा ट्राफिक प्रहरीलाई खबर गर्न महाशाखाले आग्रह पनि गरेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ११ वटा सवारी दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।