Thaha

Saturday 21 September - 7:46 pm NST

दशैंमा इन्धन उपलव्ध गराउने निगमको तयारी

काठमाडौं, २० असोज । नेपाल आयल निगमले दशैंमा काठमाडौंबाट बाहिरिने निजी र सार्वजनिक सवारी साधनलाई इन्धन सहज तरिकाले उपलब्ध गराउने तयारी गरेको छ । भारतको अघोषित नाकाबन्दीले तेल आपूर्ति नभएपछि निगमले दशैंमा नागरिकहरु घर जानबाट बञ्चित नहुन् भन्नका लागि विकल्पसहित तयारी थालेको हो ।

विभिन्न नाकाबाट दैनिक फाट्टफुट्ट भित्रिएका इन्धन सोझै काठमाडौं ल्याएर वितरण गर्ने र तत्कालका लागि हवाइ मार्गबाट पनि इन्धन आपूर्ति गर्ने तयारी भइरहेको निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्काले जानकारी दिनुभयो । ‘हवाई मार्गबाट इन्धन ल्याउने बारे सकभर आज निर्णय गर्छाैं, थाहा संचार नेटवर्कसँग कुरा गर्दै कार्यकारी निर्देशक खड्काले भन्नुभयो, सकभर घटस्थापना अघि नै काठमाडौं बाहिर जानेलाई इन्धन उपलब्ध गराउने तयारीमा छौं ।’ तेस्रो मुलुकबाट भएपनि इन्धन आपूर्ति गर्ने योजनामा रहेको खड्काको भनाई छ ।

दशैंका लागि सार्वजनिक गाडि कति गुड्ने र कति इन्धन चहिने,  भन्ने विषयमा यातायात व्यवसायीसँग पनि आफूहरु छलफलमा रहेको खड्काले बताउनुभयो । निगमले एक हप्ता अघि देखि नै निजी सवारी साधनलाई तेल दिन रोकेको छ भने सार्वजनिक र अत्यावश्यक सेवाका गाडिलाई पनि कोटा प्रणाली अनुसार तेल दिइरहेको छ । दशैंका बेला झण्डै १५ लाख मानिस उपत्यकाबाट बाहिरिने गरेका छन् ।