Thaha

Saturday 21 September - 8:02 pm NST

विद्यमान संकटका कारण मुलुकको भविष्य अन्धकारतर्फ धकेलिएको छ–उद्योगी व्यवसायी

काठमाडौं, १९ असोज । उद्योगी व्यवसायीले विद्यमान संकटका कारण मुलुकको भविष्य अन्धकारतर्फ धकेलिएको भन्दै सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन् । मुलुक इतिहासकै अत्यन्त कठिन घडीमा रहेकाले सरकार तथा राजनीतिक दलहरु अहिले निमेषभर चुकेमा मुलुकको भविष्य नै अन्धकार हुने उनीहरुको ठहर छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले आज प्रधानमन्त्री सुशील कोईरालालाई संयुक्त ज्ञापनपत्र बुझाउंदै देशलाई गम्भिर दुर्घटनाबाट जोगाउन वार्ता र कुटनीतिक तहबाट विद्यमान समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन् । तराईमा आन्दोलनरत पक्षसँग उच्चस्तरीय नेतृत्व तहबाटै वार्ता गरी  परिणाममुखी बनाउन नीजि क्षेत्रले प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

तरल राजनीतिक अवस्था र यसको संवेदनशीलताप्रति गम्भीर ध्यानाकर्षण गराउंदै समस्या समाधानका लागि तत्काल राष्ट्रिय, अन्तराष्ट्रिय र कुटनीतिक पहल चाल्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराईएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपती मुरारकाले बताउनुभयो ।

भारतले गरेको अघोषित नाकाबन्दीका कारण निम्तिएको इन्धन अभावले राजधानी लगायत हिमाल, पहाड तथा तराईका सबै जिल्लाहरु ठप्प भएका बेला सरकार मौन बसेको महसुस भईरहेको भन्दै उद्योगिहरुले मुलुक संकटमा रहेका बेला दलहरु भने सत्ताको खिचातानीमा लागेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

प्रधानमन्त्री स्वयंले पहल गरे भारतको नाकाबन्दी तत्काल खुल्ने उद्योगीहरुको विश्वास छ । उद्योगिहरुले बन्द हड्ताल र नाकाबन्दीले हजारौं मालबाहक गाडीहरु भारतमै रोकिदा निजी क्षेत्रले खर्बौको नोक्सानी बेहोरेको गुनासो पनि गरेका छन् ।