Thaha

Saturday 21 September - 8:03 pm NST

माडी नगरबासी अझै सोलार र टुकीलाई ऊर्जाको रुपमा प्रयोग गर्न बाध्य

चितवन , १९ असोज । चितवनको माडी नगरपालिकामा रुपान्तरित भइसकेपनि स्थानीय अझै सोलार, टुकीलाई ऊर्जाको रुपमा प्रयोग गर्न बाध्य छन् । नगरपालिका घोषणा भएको  वर्ष दिन पुग्न लागेपनि विद्युत् सेवा भने पुग्न सकेको छैन ।

चितवन राष्ट्रिय निकुञ्जभित्र ८ किलोमिटर भूमिगत लाइनमा समस्या देखिएपछि थप ढिलाइ हुने संकेत देखिएको छ । पछिल्लो पटक २०६६ सालदेखि सुरु भएको विद्युतीकरणको काम २०७१ पुस महिनामै सक्नुपर्ने भएपनि माडी विद्युतीकरण आयोजना लम्बिदै गएको छ । गत माघमा माडीमा विद्युत् प्रवाहको परीक्षण गरिएको थियो ।

माडी विद्युतीकरण आयोजनाका प्रमुख प्रमोद ढुंगानाले दशंैलगत्तै पुनः विद्युत् प्रवाह परीक्षण गरी मर्मतको काम गरिने बताउनुभयो  । चितवन क्षेत्र नम्बर ५ बाट निर्वाचित सांसद् विक्रम पाण्डेले केही महिना भन्सारमै सामान थन्किदा विद्युतीकरण कार्यमा ढिलाइ भएको बताउनुभयो ।

झण्डै ६ करोड रुपैयाँ खर्चेर निकुञ्जमा भूमिगत विद्युत् तार बिछ्याइएको थियो । स्रोतका अनुसार चीनबाट ल्याएको भूमिगत तारमा लगातार विद्युत् प्रवाह हुने क्षमता नै छैन । करिब ३० वर्षसम्म सञ्चालन हुने भन्दै ल्याइएको तारमार्फत एक दिन मात्र विद्युत् सबस्टेशन पुगेको थियो ।