Thaha

Saturday 21 September - 4:41 pm NST

स्वास्थ्य मन्त्रालयको हित विपरित सम्झौता


काठमाडौं, १८ असोज । स्वास्थ्य मन्त्रालयले जडिबुटी र आयूर्वेदका विषयमा नेपालको हित विपरित भारतसँग सम्झौता गरेको पाइएको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयका सचिव र भारतीय राजदुतबीच नेपालको आयुर्वेदसंग सम्बन्धित सम्झौता नेपालको हित विपरत भएको तथ्य बाहिर आएको हो ।

नेपाल आयुर्वेद विभागकी महानिर्देशक डा.देवकला भण्डारीले नेपालको हित विपरित सम्झौता भएको पाइएको थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो । सन् २०१४ नोभेम्बर २५ मा भएको सम्झौता आफुले धेरैपछि मात्र थाहा पाएको उहाँले बताउनुभयो ।

सम्झौतामा नेपालको राष्ट्रिय आयुर्वेद चिकित्सा भारतको आयुस मातहत रहेर काम गर्नुपर्ने र नेपालको जडिबुटि जन्य प्राकृतिक स्रोत साधानको भारतले निर्वाध रुपमा अध्ययन अनुसन्धान र प्रयोग गर्न पाउने उल्लेख गरिएको महानिर्देशक भण्डारीले बताउनुभयो । स्वास्थ्य मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठ र भारतीय राजदुत रन्जित रे हस्ताक्षर गरेको सम्झौता कार्यावन्यन गर्न भारतले दबाब दिईरहेको पनि भण्डारीले जानकारी दिनुभयो । तर आफूले त्यसलाई नमानेको उहाँको भनाई छ ।