Thaha

Saturday 21 September - 4:44 pm NST

जितिया पर्व आजदेखि

काठमाडौं,१७ असोज । तराईका जिल्लामा विशेष महत्वकासाथ मनाइने जितिया पर्व आजदेखि शुरु हुँदै छ । मैथिल समुदाय र थारु जातिका आमाहरुले आ–आफ्ना सन्तानको दीर्घायु एवम् मङ्गलमय कामनाका लागि मनाइने यो पर्व आज बेलुकी ८ बजेदेखि विधिवत् रुपमा शुरु हुने छ ।

आश्विन कृष्ण सप्तमीका दिन शुरु हुने यस पर्वको ब्रत नवमीका दिन सकिन्छ । यसपटक आज राति ८ बजेदेखि पर्सि बिहान ८ बजेसम्म उपवासमै बस्नुपर्ने छ । यसवर्ष तिथिको समयको हेरफेर भएका कारण ओटघनको साइत नपरेकाले व्रतालुलाई लगातार ३६ घन्टासम्म निराहार बस्नुपर्ने पण्डित रास मोहन झाले बताउनुभयो । पर्वको तिथि समयअगावै अर्थात् सप्तमी तिथिको उत्तराद्र्धमा व्रतालु आमासँगै परिवारका सम्पूर्ण सदस्यले दही–च्युरा, मिठाई, फलफूललगायतका खानेकुरा खाने गरिन्छ ।

वर्षमा एक दिन मध्यरात्रिको समयमा मिष्ठान भोजन गर्न पाइने भएकाले बालबालिकालाई ओटघन प्रति बढी चासो रहेको पाइन्छ । यस पर्वमा सप्तमी तिथिका दिन व्रतालु आमाहरुले पोखरीमा स्नान गरी सूर्यलाई जल चढाएपछि शुरु भएको ब्रत नवमी तिथिका दिन अन्य गोत्रका कम्तीमा एकजना ब्राह्मणलाई भोजन गराई दानदक्षिणा गरेपछि ब्राह्मणले व्रतालुलाई अन्न जल ग्रहण गर्न आदेश दिन्छन् । त्यसपछि यो ब्रत समाप्त भएको मानिन्छ ।