Thaha

Saturday 19 April - 5:51 pm NST

भोलीदेखि निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ वितरण नगर्ने


काठमाडौं, १३ असोज ।  भारतको अघोषित नाकाबन्दी लम्बिने भए नेपाल आयल निगमले भोलीदेखि निजी सवारी साधनलाई पेट्रोलियम पदार्थ वितरण नगर्ने भएको छ । अहिलेकै कोटा प्रणाली अनुसार वितरण गर्दा झण्डै १२ दिनलाई पुग्ने डिजेल र पेट्रोल मौज्दात भएपनि तत्काल आपूर्ति हुन नसके नीजि सवारीलाई दिन नसकिने आयल निगमले जनाएको छ ।

यसबिषयमा आज दिउँसो २ बजे गृह मन्त्रालयमा सरकारसँग छलफल गरिने निगमका प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो । ‘दुई चार दिनमै आपूर्ति सहज हुने भए अहिलेकै अनुपातमा वितरण गर्छाैं, बरालले थाहा संचार नेटवर्कसँग भन्नुभयो, लम्बिने परिस्थिती भयो भने अत्यावश्यक सेवा बाहेकलाई दिन सकिन्न ।’ थप आयात नभए भोली देखि अस्पताल, एम्बुलेन्स, सुरक्षा निकाय, सार्वजनिक सवारीलगायत अत्यावश्यक सेवालाई मात्रै पेट्रोलियम पदार्थ उपलब्ध गराउने निगमको तयारी छ ।

सोमबारदेखि कोटा प्रणाली लागू गरेको निगमले दुई दिनमा २ लाख ६ हजार लिटर पेट्रोल र झण्डै ६ लाख लिटर डिजेल वितरण गरिसकेको छ । आज पनि हिजोकै परिमाणमा डिजेल र पेट्रोल वितरण गरिने निगमले जनाएको छ ।   पेट्रोल हिजो वितरण गरिएका पम्पहरुबाट नै वितरण हुने र डिजेल वितरण गरिने पम्पहरु भने हेरफेर हुन सक्ने प्रवक्ता बरालले बताउनुभयो । आज पनि काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा पेट्रोलियम पदार्थ भर्नका लागि पम्पहरुमा सवारी साधनको लामो लाइन लागेको छ ।