Thaha

Saturday 21 September - 2:15 pm NST

आजदेखि सोह्र श्राद्ध

आजदेखि सोह्र श्राद्ध
काठमाडौं, ११ असोज । आजदेखि सोह्र श्राद्ध शुरु भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृ पक्ष अर्थात् सोह्र श्राद्ध आजदेखि सुरु हो । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले यो अवधीलाई सोह्रश्राद्ध भनिएको हो । चाडपर्व यज्ञयज्ञादी तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्परा अनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो ।

यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्वबोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रही आएको छ । सोह्र श्राद्धमा श्राद्ध नगर्दा अक्षम्य दोष लाग्छ भन्ने शास्त्रीय वचनका आधारमा श्राद्ध गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डाक्टर रामचन्द्र गौतमले बताउनु भयो ।

यस वर्ष द्वादशी तिथिमा मघा नक्षत्र परेकाले छोरा हुनेले त्यस दिन श्राद्ध गर्नु नहुने शास्त्रीय विधान रहेको पनि समितिले जनाएको छ । सोह्र श्राद्धभर काठमाडौँको उत्तर पूर्वमा रहेको गोकर्णेश्वर उत्तरगया धाममा श्राद्ध गर्नेको भीड लाग्ने गर्छ ।