Thaha

Saturday 21 September - 2:24 pm NST

आजदेखि कोटा प्रणालीमा पेट्रोलियम पदार्थ वितरण

आजदेखि कोटा प्रणालीमा पेट्रोलियम पदार्थ वितरण 
काठमाडौं, ११ असोज । नेपाल आयल निगमले आजदेखि कोटा प्रणालीमा पेट्रोलियम पदार्थ वितरण गर्ने भएको छ । भारतले अघोषित नाकाबन्दी गरेपछि मौज्दात रहेको डिजेल र पेट्रोललाई आजदेखि कोटा प्रणाली लागू गरि बिक्रि गर्ने निगमले जनाएको छ । तेल वितरण हुने पम्पबारे निगमले हरेक दिन आफ्नो वेबसाईटमार्फत जानकारी गराउने निगमका प्रवक्ता दिपक बरालले जानकारी दिनुभयो । आज तेल बितरण गरिने पम्पको जानकारी दिउँसो १२ बजेपछि निगमको वेबसाइटमा राखिने बरालले बताउनुभयो ।

इन्धन डिपो सम्म पुर्याउदा झण्डै १२ बज्ने भएकोले सोहि अनुसार समय निर्धारण गरिएको निगमले जनाएको छ । प्रवक्ता बरालले कोटा प्रणाली अनुसार सबै उपभोक्तालाई वितरणको प्रयास गरिने बताउनुभयो । निगमका  अनुसार अब मोटरसाइकलले हप्तामा ३ लिटर, चारपांग्रे निजी, सरकारी तथा संस्थानका सवारी साधनले हप्तामा १० लिटर पेट्रोल पाउने छन् ।

यस्तै ट्याक्सीले जोर–बिजोर प्रणालीमा आफ्नो पालो परेको दिनमा १० लिटर पेट्रोल पाउनेछन् । डिजेल गाडीतर्फ निगमले निजी तथा सरकारी र संस्थानका चार पांग्रे गाडीका लागि हप्तामा १० लिटर र सार्वजनिक माईक्रोबस लगायत साना सवारीलाई पालो परेको दिन १५ लिटर डिजेल दिइनेछ ।

यस्तै मिनिबस तथा स्कुलबसलाई एकदिन बिराएर २० लिटर डिजेल दिइनेछ भने ठूला बसले जोर–बिजोरको आफ्नो पालो परेको दिनमा २० लिटर डिजेल पाउने निगमले जानाएको छ । तेल दिएपछि सवारीको ब्लु–बुकमा विवरण टिपाइने प्रवक्ता बरालले बताउनुभयो । यस्तै जोर बिजोर प्रणाली अन्र्तगत आज देशैभर बिजोर नम्बरका सवारी साधन मात्रै चलेका छन् । आज बिजोर गते भएकोले बिजोर नम्बरका सवारी साधन मात्रै सन्चालनमा आएका हुन् ।