Thaha

Saturday 21 September - 2:09 pm NST

कैलालीको टिकापुरमा खटिएको नेपाली सेना व्यारेक फिर्ता

 कैलालीको टिकापुरमा खटिएको नेपाली सेना व्यारेक फिर्ता 
काठमाडौं, ११ असोज । शान्ति सुरक्षालाई मध्यनजर गरी कैलालीको टीकापुर नगरपालिका र आसपासका क्षेत्रमा खटिएको नेपाली सेना व्यारेक फर्किएका छन् । कैलालीको टीकापुरको सुरक्षा स्थिति सामान्य भएकाले स्थानीय प्रशासनको लिखित अनुरोधमा नेपाली सेना व्यारेक फिर्ता भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

गएराती १२ बजेपछि कैलालिको सबै क्षेत्रमा खटिएका सेना फिर्ता भएका हुन् । टीकापुरमा गएको भदौ ७ गते आठ प्रहरी र एक बालकको ज्यान जाने गरी भएको हिंसात्मक घटनापछि स्थानीय प्रशासनले टीकापुर नगरपालिका, भजनी–त्रिशक्ति नगरपालिकासहित आसपासका क्षेत्रमा दङ्गाग्रस्त क्षेत्र घोषणा गरी सेना खटाएको थियो ।

जिल्ला प्रशासन कार्यालयले विज्ञप्तिमा जारी गरि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम शान्ति सुरक्षा कायम गर्न नेपाली सेनाबाट सहयोग लिइएकामा व्यारेक फिर्ता गर्ने जानकारी गराएको छ । ती क्षेत्रमा घोषणा गरिएको दङ्गाग्रस्त क्षेत्र भने यही असोज ६ गते राति १२ बजेदेखि हटाइएको थियो । टीकापुरमा जारी निषेधाज्ञा भने आज बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मका लागि हटाइएको छ । तर, निषेधित क्षेत्र यथावत् राखिएको प्रहरीले जनाएको छ ।