Thaha

Saturday 21 September - 2:29 pm NST

कलंकी सडकको विस्तारको कामले तिव्रता नपाउँदा सर्वसाधारणलाई सास्ती

कलंकी सडकको विस्तारको कामले तिव्रता नपाउँदा सर्वसाधारणलाई सास्ती
काठमाडौ, १० असोज । काठमाण्डौको कलंकी कोटेश्वर सडक खण्ड विस्तारको कामले तिब्रता नपाउँदा यात्रु र सर्वसाधारणले सास्ती पाएका छन् । सम्झौता अनुसार ४० महिनामा सडक निर्माणको काम सम्पन्न गरिसक्नु पर्ने भए पछि १६ महिनामा झण्डै ३० प्रतिशत मात्र काम सकिएको छ ।

बाँकी दुई वर्षमा काम सकिने सम्भावना कम देखिएको छ । सडक विस्तार परियोजना प्रमुख अशोक तिवारीका अनुसार सडक खण्डका दुवैतर्फ खन्ने काम ५० प्रतिशत पर्खाल निर्माण ४०, नाला ३० र सब–ग्रेड ४० प्रतिशत मात्र सकिएको  छ । निर्माण कम्पनीलाई तोकिएको समय भन्दा थप चार महिना समय दिने र त्यो अवधिमा पनि काम नसकिए जरिवाना गर्ने परियोजना प्रमुख तिवारीले बताउनुभयो । झण्डै साढे १० किलोमिटर लामो सडक खण्ड चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा विस्तार हुन लागेको हो ।

निर्माणको ठेक्का सांघाई कन्स्ट्रक्सन गु्रपले लिएको छ । कम्पनीले सन् २०१३ जुनदेखि सडक विस्तारको काम थालेको हो । झण्डै ३ सय १२ मिलियन चिनीयाँ मुद्राको लागतमा सडक विस्तार  हुन लागेको हो ।