Thaha

Saturday 21 September - 2:24 pm NST

भारतको अघोषित नाकाबन्दी, देशभर पेट्रोलियम पदार्थको अभाव

भारतको अघोषित नाकाबन्दी, देशभर पेट्रोलियम पदार्थको अभाव
काठमाडौं, ९ असोज । भारतले अघोषित नाकाबन्दी गरेपछि काठमाडौं उपत्यकासहित देशभर पेट्रोलियम पदार्थको अभाव भएको छ । तीन दिन देखि भारतबाट पेट्रोलियम पदार्थ लोड भएका गाडि नेपाल आउन सकेका छैनन् । 
भण्डारण गरिएको पेट्रोलियम पदार्थ पनि सकिन लागेकाले नेपाल आयल निगमले तेलको खपत घटाउन आव्हान गरेको छ । परिस्थिति जटिल बन्दै गएकाले निगमले सकभर सार्वजनिक गाडी चढ्न  नागरिकलाई आग्रह गरेको छ । मौज्दात घट्दै गएको र थप आयात नभएकाले सोमबारदेखि सार्वजनिक गाडिलाई मात्रै तेल उपलब्ध गराउने तयारी पनि निगमले गरेको छ । यसो गर्दा मौज्दात रहेको तेल दुई सातासम्म पुर्याउन सकिने निगमको अनुमान छ ।

तराईमा चलिरहेको  आन्दोलनका कारण डेढ महिनादेखि सहज आपूर्ति हुन नसक्दा मौज्दात पनि पर्याप्त राख्न नसकिएको आयल निगमका प्रवक्ता दीपक बरालले जानकारी दिनुभयो । पेट्रोलियम पदार्थ नभएपछि काठमाडौं उपत्यकाका सबैजसो पेट्रोलपम्प बन्द छन् । आज र भोली सार्वजनिक विदा परेकाले निगमले तेल वितरण नगर्ने प्रवक्ता बरालले बताउनुभयो । निगमका अनुसार अहिले देशभर २३ हजार किलोलिटर मात्रै तेल भण्डारण छ । भारतले नाका ठप्प पारेपछि सयौं ट्याङ्कर पेट्रोलियम पदार्थ  र २ सय बुलेट ग्याँस भारततर्फै रोकिएका छन् । 


यसैबीच, सरकारले पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि गृहकार्य शुरु गरेको जनाएको छ । बाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले भण्डारण रहेको तेलको अवस्था, लोड गर्न गएका ट्याङ्कर र नाकामा रोकिएका गाडिबारे बास्तविक तथ्याङ्क उपलब्ध गराउन नेपाल आयल निगमलाई निर्देशन दिएको बताउनु भएको छ । थाहा संचार नेटवर्कसँग कुरा गर्दै मन्त्री थापाले त्यसपछि नयाँ रणनीति बनाएर पेट्रोलियम आयात सहज बनाउन प्रयास गरिने बताउनुभयो । भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायसँग छलफल गरेर पहिला वास्तविक अवस्था बुझ्ने र त्यसपछि आपूर्तिका लागि कुटनीतिक पहल थाल्ने मन्त्री थापाको भनाई छ ।