Thaha

Friday 17 May - 3:43 pm NST

गोदावरी मेला आज सकिने


काठमाडौं, ३१ भदौ । ललितपुरको गोदावरीमा एक महिना अघि शुरु भएको १२ वर्षे गोदावरी सिंहस्थ मेला आज सकिदै छ । भदौ महिनाभर चलेको मेलामा महास्नान, महाध्यान, र महाज्ञानको व्यबस्था गरिएको छ ।

हरिसिद्धि भवानी देबी गुठीका २९ पुजारीले साँस्कृतिक, बाजागाजासहित कुण्डको मुल ढोका खोलेर नागराजलाई विधिपुर्वक पुजा गरि दुधले   स्नान गराएपछि मेला शुरु भएको थियो । मेलाको समापन पनि हरिसिद्धिका पुजारीले नै विधिपुर्वक राती १२ बजे गर्ने मेला व्यबस्थापन समितिका सह–संयोजक मधुसुदन पौडेलले बताउनुभयो । यस पटकको मेलामा हिजो सम्म ४६ लाख भक्तजनले सहभागिता जनाएको मेला व्यबस्थापन समितिले दावी गरेको छ ।

गोदावरी नगरपालिकाको शिरमा रहेको सिद्धेश्वर महादेव र गोदावरी गंगा मुहान मेलाको प्रमुख आकर्षण मानिएका थिए । मेलामा स्थानीय उत्पादन तथा खाद्यान्न लगायत २ सय २५ वटा प्रर्दशनी कक्ष रहेका छन् ।

भक्तजनको सुरक्षाको लागि मेला स्थलमा सिसि टिभिक्यामेरा  जडान गरिएको थियो भने नेपाल प्रहरी, शशस्त्र प्रहरी र ट्राफिक प्रहरी गरि १ सय २२ जनालाई नियमित रुपमा खटाइएको थियो ।

स्काउट र रेडक्रस सोसाइटीबाट झण्डै ५ सय स्वयमसेबक र २५ जनाको स्वास्थ्य कर्मीको टोली पनि मेलामा खटिएका छन् । मेलामा जाने भक्तजनका लागि दुइवटा स्थायी र ८० वटा अस्थाई सौचालय बनाईएको थियो भने मेलास्नानका लागि २२ हजार वर्गफिट क्षेत्रफलको कुण्ड बनाइएको छ ।