Thaha

Friday 17 May - 4:24 pm NST

आज तीज, शिवालयमा ब्रतालुको भीड


काठमाडौं, ३० भदौ । आज हरितालिका तीज, हिन्दु महिलाले भगवान शिवको पूजा आराधना गर्दै नाचगान र मनोरञ्जन गरेर मनाउने गर्छन । हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन तीजको ब्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी भएर तीज मनाउने गरिन्छ । तीजको अघिल्लो दिन दरखाने र आज ब्रत बसी तीज मनाउने चलन छ ।

भाद्रशुक्ल द्वितीयादेखि सुरु भएको तीज शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ । हिमालयकी पुत्री पार्वतीले आफ्ना पति भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकामा त्यो हरितालिका तीजको दिने थियो ।

तीजको ब्रत बसी महिलाहरूले पतिको निमित्त निराहार बसेर भगवान शिव तथा पार्वतीसँग प्रार्थना गर्दछन् । आज काठमाडौँको पशुपतिनाथ मन्दिरमा महिला ब्रतालुको ठूलो भीड लाग्ने गर्दछ ।  भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो ।

तर पछिल्ला समय तडकभडकको प्रभावका कारण यसको वास्तविक मौलिकता हराउँदै जान थालेको भन्दै जानकारहरुले चिन्ता व्यक्त गरेका छन् ।