Thaha

Friday 17 May - 2:57 pm NST

घटेको भाडादर आजदेखि लागू

काठमाडौं, २५ भदौ । सरकारले सार्वजनिक यातायातका साधनमा घटेको भाडा दर आजदेखि लागु गरेको छ ।

यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएअनुसार गत बुधबार भाडा समायोजन गरेको थियो । यातायात व्यबस्था बिभागले बुधबार भाडा समायोजनको निर्णय स्वीकृतिकालागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको थियो ।

मन्त्रालयले हिजो स्वीकृत गरेपछि नयाँ भाडादर आजदेखि लागु भएको हो । मन्त्रालयले आज सार्वजनिक सूचना निकालेर भाडादर आजैदेखि लागुहुने जानकारी गराएको छ । काठमाडौं उपत्यका र तराईका जिल्लामा चल्ने सार्बजनिक यातायातका बसमा २ दशमलव ३ प्रतिशत भाडा घटाइएको छ ।

काठमाडौं उपत्यकामा १३ रुपैयाँदेखि अधिकतम २५ रुपैयाँसम्म भाडा कायम गरिएको छ । पहाडी जिल्लामा चल्ने बसहरुमा ४ दशमलव ३७ प्रतिशत भाडा घटेको छ । मिटर जडित ट्याक्सीमा १ दशमलव ६ प्रतिशत र तराई क्षेत्रमा ढुवानी गर्ने ट्रक लगायतका सवारी साधनमा ५ दशमलव २८ प्रतिशत भाडा घटेको छ । नारायण–पोखरा–नारायणगढ–काठमाडौंको हकमा भने ४ दशमलव ३७ प्रतिशत भाडा घटेको छ ।