Thaha

Friday 17 May - 4:19 pm NST

तराई बन्दले पहाडी क्षेत्रमा पनि औषधीको अभाव सुरु


काठमाडौं, २४ भदौ । तराइ बन्दका कारण भारतबाट औषधी बोकेका गाडी नेपाल भित्रन नसक्दा काठमाडौं उपत्यका सहित पहाडी जिल्लामा पनि औषधीको अभाव सुरु हुन थालेको छ । 
भारतबाट औषधी लिएर हिँडेका  ५० भन्दा बढी ट्रक वीरगंजमै रोकिएको औषधी व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले जानकारी दिनुभयो । अर्घाखाँची, सिन्धुली लगायतका पहाडी जिल्लामा केही औषधीको अभाव सुरु भइसकेको छ ।

स्टक रहेको औषधी केही दिनलाई पुग्ने र बन्द लम्बिए देशभर औषधीको चरम अभाव हुने अध्यक्ष श्रेष्ठको भनाई छ । नेपालमा खपत हुने औषधीमध्ये ६० प्रतिशत भारतबाट आयात हुने गर्छ । तराईका जिल्लामा औषधीको अभाव झन् चर्किएको छ । दिनहुँ खानुपर्ने रक्तचाप, सुगर, मुटुरोगलगायतका औषधी नपाउँदा बिरामी मर्कामा परेका छन ।

औषधी पठाएका केही गाडिसमेत बन्दकर्ताले जलाएपछि तराइमा औषधी पठाउन नसकिएको औषधी व्यवसायी संघले जनाएको छ । अत्यावश्यक औषधी काठमाडौंबाट प्लेनमा पठाइएपनि त्यो पर्याप्त हुन सकेको छैन । आफूहरुले बिज्ञप्तीमार्फत सबै पक्षलाई औषधीको आपूर्ति सहज बनाउन आग्रह गरेपनि त्यसो हुन नसकेको भन्दै श्रेष्ठले अब सरकारसँग छलफल गरिने बताउनु भयो ।