Thaha

Friday 17 May - 2:31 pm NST

स्वाइन फ्लू प्रति सर्तक रहन चिकित्सकको आग्रह

काठमाण्डौ २० भदौ । नेपालका विभिन्न जिल्लामा स्वाइन फ्लुको संक्रमण देखिन थालेकोले सर्तकता अपनाउन चिकित्सकले आग्रह गरेका छन् । अहिले रामेछाप र बारामा स्वाइन फ्लुको संक्राणे पुष्टि भइसकेको छ । 

गर्मी सकिने र जाडो शुरु हुने क्रम भएकोले यो समयमा स्वाइन फ्लुको संक्रमण बढ्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन चिकित्सकले आग्रह गरेका हुन । यो रोगको जोखिमलाई मध्यनजर गर्दै सरकारले उपचार र औसधिको व्यबस्था समेत गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बाबुराम मरासिनिले थाहासन्चार नेटवर्कलाई जानकारी दिनुभयो । 

स्वाइन फ्लु छिट्टो सर्ने रोग भएकोले फैलन संभाबना बढि भएकोले पूर्व सर्तकता अपनाउन समेत उहाले आग्रह गर्नुभयो । काठमाण्डौमा भने अहिले यस्ता रोगका बिरामी फेला नपरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण केन्द्र टेकुले जनाएको छ ।अस्पतालका बरिष्ठ डाक्टर शेरबहादुर पुनले अब स्वाइन फ्लुकोलागि जोखिमयुक्त समय शुरु हुन लागेकोले सर्तकता अपनाउन आग्रह गर्नुभयो । शुरुमा रुघा खोकीको रुपमा देखिने स्वाइन फ्लुले केहि दिन भित्रै मानिसको मृत्यु समेत गराउछ । 

यस रोगबाट बच्न बाहिर हिड्दा मास्कको प्रयोग गर्ने, रोगीको सम्पर्कमा सकभर नजाने, भेटघाटका बेला हात मिलाउनुको साटो नमस्कार गर्ने लगायतका पूर्व सर्तकता अपनाउन चिकित्सकले सुझाएका छन् । 
 

स्वाइन फ्लू के हो?
स्वाईन फ्लु एक खतरनाक भाईरस हो जुन सुँगुरको कारण फैलिने गर्दछ। सबैभन्दा यसको संक्रमण मेक्सिकोको वेराक्रूज ईलाकाको सुगुँर फार्ममा सबैभन्दा पहिले देखिएको थियो। यस लाई कतै-कतै सुँगुर ज्वरो पनी भन्ने गरीन्छ र यो रोग फैलाउन मुख्यतया ४ प्रकारका भाईरसहरु जिम्मेबार हुन्छन।
– H1N1
– H1N2
– H3N2 र
– H3N1
जस मध्ये अहिले H1N1 जुन सबैभन्दा खतरनाक भाईरस हो त्यसैको संक्रमण संसारका करिब दुई सय देशहरुमा देखिईसकेको छ। प्रयोगशालामा गरिएको परीक्षणहरुबाट यो रोगको भाइरसको जीन उत्तरी अमेरिकाका सुंगुरमा पाइने जीनजस्तो भएको पत्ता लागेको थियो। जसका कारण यसलाई स्वाइन फ्लू भन्न थालिएको हो।

कसरी फैलन्छ स्वाइन फ्लू?
सर्वप्रथम त सुँगुर को सम्पर्कमा नियमित रहिरहने मानिसहरुमा सुँगुर बाट यो भाईरस सर्ने गर्दछ। त्यस पछी स्वाइन फ्लू प्रभावित व्यक्तीहरुको सम्पर्कमा आउँदा हावाबाट सर्ने गर्दछ । स्वाइनफ्लुको विषाणु सामान्य रुघाखोकीजस्तै फैलिन्छ । रोगीले कुरा गर्दा, खोक्दा वा हाँच्छिउ गर्दा विषाणु युक्त स-साना पानीको नदेखिने कण वातावरणमा फैलिन्छ । यस बाहेक घर वा सार्वजनिक स्थानमा दिनहुँ उपयोगमा आउने वस्तुमा समेत विषाणु हुन सक्छन् । ढोकाको हेन्डिल, टी.भी.को रिमोट कन्ट्रोल, हात राखेर हिँडने रेलिङ, बसको गेटमा भएको हेन्डिल, कम्प्युटरको कि-बोर्ड, आदि सतहमा विषाणु घन्टौं जीवित रहन सक्छन् ।

यसका लक्षणहरु के-के हुन त?
यसको लक्षण सामान्य रुघा खोकी सँग मिल्दो जुल्दो हुन्छ तर रगतको परिक्षण बाटमात्र यो पत्ता लगाउन सकिन्छ। स्वाइन फ्लु भए ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने, थकाइ लाग्नेजस्ता लक्षण देखिन्छ । सास लिन कठिनाइ, वान्ता, झाडापखाला समेत हुन सक्छ।

उपचार र बचावटका उपायहरु
यदी शुरुवाती दिनहरुमा नै यस रोगको पहिचान हुन सकेमा यस रोगको उपचार केही हद सम्म सम्भव छ। यदी नेपालमा यसको संक्रमण भेटिएमा नेपाल सरकारले काठमाडौमा यसको उपचारका लागि विशेष प्रबन्ध गरेको छ।

यस बाट बच्ने सर्वोत्तम उपाय भनेको संक्रमितहरुको सम्पर्कबाट बच्नु र सफा-सुग्गर रहनु नै हो। सार्वजनिक स्थानहरुमा जाँदा रोग प्रतिरोधक स्तरिय मास्क प्रयोग गर्नु खोक्दा, हाच्छिउँ गर्दा रुमालले मुख छोप्नु र साबुन पानीले हातमुख धुनु नै प्रमुख केही उपायहरु हुन किनकी फोहोर बाट भाईरस छिटै फैलिन सक्छ ।