Thaha

Friday 17 May - 1:45 pm NST

बन्दले तराईमा औषधि अभाब

काठमाण्डौ १८ भदौ ।
तराईमा बन्द हड्ताल भएपछि औषधीको अभाव भएको छ ।  वर्षाको सिजन भएकाले बिरामीको चापपर्ने बेलामानै औषधी अभाव भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डाक्टर बाबुराम मरासिनीले थाहा संचार नेटवर्कलाई बताउनुभयो । 

उहाँका अनुसार तराईमा बढि मात्रामा सर्पले डसेपछि त्यसका विरुद्ध दिईने एन्टीस्नेक भेनम आवश्यकता अनुसार उपलब्ध छैन । काठमाडौंबाट पठाउन समेत समस्या परेको मरासिनीले जानकारी दिनुभयो । ढुवानीमा समस्या देखिएपछि तराईका धेरै जिल्लामा अन्य औषधीको पनि अभाव भएको छ । प्रदेश सिमांकनको विषयमा मधेसवादी दल, थारुवान– थरुहट संयुक्त संघर्ष समिति र विभिन्न जातीय संगठनले विगत २३ दिनदेखि बन्दहड्ताल गर्दै आएका छन् । 

प्रहरीले स्कर्टिङ गरि अत्यावश्यक पदार्थ ढुवानीको व्यबस्था गरेको भएपनि त्यो पर्याप्त हुन सकेको छैन । कैलालीको टिकापुरमा रहेको तिमिल्सेना मेडिकल हलका संचालक टेकराज बिनाटीले बढि माग हुने औषधिको अभाब भएको बताउनुभयो । यस्तै कपिलबस्तुमा पनि  औषधिको आपूर्र्ति सहज हुन सकेको छैन । 

मेडिकल एसोसिएसन कपिलबस्तुका अध्यक्ष मानसल्लाह खानका अनुसार झाडापखलाको औषधि, छाला सम्बन्धि रोगका औषधि, विभिन्न रोगका लागि दिइने एन्टीवायोटिकको अभाव छ । अध्यक्ष खानले तत्काल औषधीको आपूर्ति व्यवस्था सहज बनाउन सरकारसँग माग गर्नुभयो । 

जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुका प्रमुख बसन्त अधिकारीले जिल्लाका ग्रामिण क्षेत्रमा औषधि अभाव भएको गुनासो आएपनि बन्दका कारण पठाउन नसकिएको बताउनुभयो ।