Thaha

Sunday 14 September - 3:18 pm NST

परिवार नियोजनको साधन प्रयोगदर लक्ष्य भन्दा निक्कै कम

सरस्वती अधिकारी
काठमाण्डौं, ९ भदौ । नेपालमा परिवार नियोजनका अस्थायी आधुनिक साधनको प्रयोग गर्नेको संख्या लक्ष्यभन्दा कम देखिएको छ । सन् २०१५ सम्म आधुनिक साधनको प्रयोग दर ६७ प्रतिशत पुर्याउने सहस्राब्दि लक्ष्य राखिएपनि अहिलेसम्म ५० प्रतिशत मात्रै पुगेको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

विभागको परिवार स्वाथ्य महाशाखा अन्तर्गत परिवार नियोजन शाखा प्रमुख घनश्याम पोखरेलका अनुसार कुल प्रजननदर भने लक्ष्य नजिक पुगेको छ । २ दशमलव ५ मा झार्ने लक्ष्य राखिएको कूल प्रजनन दर अहिले २ दशमलव ६ प्रतिशतमा रहेको छ । सानै उमेरमा विवाह गर्नेहरुको प्रजनन स्वास्थ जोखिममा रहने भएपनि उनीहरुले परिवार नियोजनको साधन प्रयोग गर्न चासो नदिने गरेको पोखरेलको भनाई छ । १५ देखि १९ बर्षसम्मका १४ प्रतिशत विवाहित जोडिले मात्र परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्ने गरेको उहाँले बताउनुभयो । अहिलेपनि १७ प्रतिशत किशोरी कम उमेरमै पहिलो बच्चा जन्माउँदैछन् ।

परिवार नियोजन शाखाको तथ्याङ्क अनुसार सबैभन्दा बढी ३० देखि ३९ बर्षसम्मका ५७ दशमलब ३ प्रतिशत जोडीले आधुनिक साधन प्रयोग गर्ने गरेका छन् । परिवार नियोजन सेवा सुरु भएको ६० वर्ष वितिसक्दा पनि आधुनिक साधनको प्रयोग दरमा उल्लेख्य सुधार नआएपछि सरकारले ‘स्मार्ट परिवार स्मार्ट दम्पत्ति’ भन्ने नारा सहित ३ वर्षे स्मार्ट कार्यक्रम सञ्चालन गरिरहेको छ ।

सन् २०१५ देखि ०१७ सम्म कार्यक्रम सञ्चालन हुने कार्यक्रमले महिला तथा पुरुषहरुमा आधुनिक गर्भनिरोधक साधनको प्रयोग बढाउने, प्रसुतिपछि ४५ दिनभित्र परिवार नियोजनको साधन प्रयोगको सुचांकमा सुधार गर्ने, २० वर्षपछि मात्र पहिलो बच्चा जन्माउने दरमा बृद्धि गर्ने, उपयुक्त जन्मान्तर कायम गर्ने लक्ष्य राखेको परिवार नियोजन शाखाले जनाएको छ ।