Thaha

Friday 03 May - 12:20 am NST

एचआइभी संक्रमितको संख्या घटदो


अभिराज ओली
काठमाडौं, २ भदौ । सरकारले सन् २०१६ सम्म एचआईभी संक्रमणको दर ५० प्रतिशत घटाउने लक्ष्य प्रगतिउन्मुख रहेको दाबी गरेको छ । राष्ट्रिय एड्स तथा यौनरोग निवारण केन्द्रले सन् २०१० मा ६ वर्षभित्र एचआईभी संक्रमण आधा घटाउने गरी लिएको लक्ष्य पूरा हुने दाबी गरेको हो ।

सन् २०१० मा नेपालमा वार्षिक झण्डै २ हजार जना नयाँ एचआईभी संक्रमित भेटिने गरेकोमा अहिले घटेर १४ सय १६ मा आईपुगेको केन्द्रका निर्देशक डाक्टर दिपेन्द्र रमणले थाहासञ्चार नेटवर्कलाई जानकारी दिनुभयो ।

अबको डेढ वर्षमा यो संख्या १ हजारमा झार्ने गरी कार्यक्रम चलाईएको निर्देशक रमणको भनाई छ ।  यसैगरी एचआइभी संक्रमितको मृत्युदरलाई २५ प्रतिशतले घटाउने लक्ष्य पनि भेटिने अवस्थामा पुगेको रमणले बताउनुभयो । संक्रमितको उपचारका लागि एन्ट्रो भाइरल थेरापी (एआरटी) पर्याप्त मात्रामा उपलब्ध गराईएको र देशका विभिन्न स्थानबाट वितरण भईरहेको रमणले बताउनुभयो ।

तर, सन् २०१६ सम्म संक्रमित गर्भवती आमाबाट बच्चामा सर्ने एचआईभी ९० प्रतिशत घटाउने लक्ष्य भने असफल हुने देखिएको छ । संक्रमण  र मृत्यदर घटाउने लक्ष्य बढी केन्द्रित भएकाले गर्भवती आमाबाट बच्चामा सर्ने एचआईभीको दरमा भने कमी ल्याउन नसकेको सरकारको भनाई छ ।

सन् २०१६ देखि भने संक्रमित आमाबाट जन्मने बच्चामा सर्ने एचआईभी दर घटाउन केन्द्रित हुने केन्द्रको योजना छ । सन् २०३० सम्म एचआईभी संक्रमणलाई शुन्यमा झार्ने सरकारको योजना छ । सरकारी तथ्याङ्क अनुसार नेपालमा अहिले ३९ हजार एचआईभी संक्रमित छन । (प्रशिक्षार्थी)