Thaha

Friday 03 May - 4:19 am NST

समाचार प्रभाब – मकवानपुरमा धनुष्टंकारको संक्रमण भेटिएका शिशुको उपचारमा सहयोग जुट्दै

मकवानपुर २५ साउन । मकवापुरको बसामाडीमा धनुष्टंकार रोगको संक्रमण भेटिएका शिशुको उपचारको लागि सहयोग जुटेको छ । आज बिहान मात्रै स्थानीय हरि गिरिले ५० हजार रुपैया र लाइन्स क्लब अफ हेटौडा भुटनदेबी १० हजार रुपैया सहयोग गरेपछि ति शिशुलाई उपचारको लागि काठमाण्डौ ल्याइदै छ । 

उनको काठमाण्डौंको कान्ति बाल अस्पतालमा उपचार गर्ने तयारी गरिएको रेडियो थाहासन्चार हेटौडाले जनाएको छ । केहि दिन अघि थाहासन्चार नेटर्वकले दश बर्ष अघि नै निवारणको घोषणा गरिएकोे धनुषटंकार रोग मकवानपुरमा नवजात शिशुमा देखिएको समाचार प्रसारण गरेपछि उपचारको लागि सहयोग जुटेको हो । 

बसामाडी गाविस–२ बस्तीपुरमा चेपाङ दम्पतिले जन्माएको शिशुमा धनुष्टंकार रोगको संक्रमण देखिएको हेटौंडा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर हरिबहादुर खड्काले जानकारी दिनुभयो । आमाले गर्भावस्थामा टिटानसविरुद्धको सुई नलगाउँदा र शिशुको सालनाल काट्दा खिया लागेको हतियार प्रयोग गरेमा नाइटोबाट संक्रमण भएर यस्तो समस्या देखिएको खड्काले बताउनुभयो । सन् २००५ मा सुत्केरी र नवजात शिशुमा देखिने धनुषटंकार रोग निवारणको घोषणा गरिएको थियो । 

स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद पौडेलले निवारण घोषणा गरिएपनि प्रत्येक १० लाख शिशुमध्ये एक जनामा रोगको संक्रमण देखिनसक्ने बताउनुभयो । चेपाङ दम्पति रोशनी र दिनेशले पनि आफ्नो १५ दिने छोराको उपचारमा आर्थिक सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको थियो । चेपाङ दम्पतीको यसअघि नै एक छोरी र चार छोरा छन् ।