Thaha

Friday 03 May - 6:13 am NST

धनुषटंकार लागेका शिशुको उपचारमा समस्या

काठमाडौं, २३ साउन । दश बर्ष अघि नै निवारणको घोषणा गरिएको नवजात शिशुमा देखिने धनुषटंकार रोग मकवानपुरमा भेटिएको छ । बसामाडी गाविस-२ बस्तीपुरमा चेपाङ दम्पतिले जन्माएको शिशुमा धनुषटंकार रोगको संक्रमण देखिएको हेटौंडा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर हरिबहादुर खड्काले जानकारी दिनुभयो ।

                                                                       हेटौंडा अस्पतालमा उपचाररत शिशु । तस्वीरः जीवराज बख्रेल/हेटौंडा

आमाले गर्भावस्थामा टिटानसविरुद्धको सुई नलगाउँदा र शिशुको सालनाल काट्दा खिया लागेको हतियार प्रयोग गरेमा नाइटोबाट संक्रमण भएर यस्तो समस्या देखिने खड्काले बताउनुभयो । सन् २००५ मा सुत्केरी र नवजात शिशुमा देखिने धनुषटंकार रोग निवारणको घोषणा गरिएको थियो ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत बाल स्वास्थ्य महाशाखा प्रमुख कृष्णप्रसाद पौडेलले निवारण घोषणा गरिएपनि प्रत्येक १० लाख शिशुमध्ये एक जनामा रोगको संक्रमण देखिनसक्ने बताउनुभयो । यसको उपचार संभव भएपनि आर्थिक अभावमा बिरामी शिशुलाई अभिभावकले घर लैजान खोजेको भन्दै डाक्टर खड्काले आर्थिक सहयोग जुटाउएर थप उपचारका लागि कान्ति बाल अस्पताल काठमाडौं पठाउने प्रयास भइरहेको बताउनुभयो ।

चेपाङ दम्पति रोशनी र दिनेशले पनि आफ्नो १५ दिने छोराको उपचारमा आर्थिक सहयोग गर्न सबैलाई आग्रह गर्नुभएको छ । अहिले शिशुको सामान्य अवस्थामा हेटौंडा अस्पतालमै उपचार भइरहेको छ । चेपाङ दम्पतीको यसअघि नै एक छोरी र चार छोरा छन् ।