Thaha

Friday 03 May - 6:17 pm NST

कास्की र म्याग्दीमा पहिरोमा पुरिएर ३० जनाको मृत्यु, २९ जना अझै बेपत्ता

कास्की/म्याग्दी, साउन १४ । कास्की र म्याग्दीमा पहिरोमा पुरिएर ३० जनाको मृत्यु भएको छ ।

कास्कीको भदौरे तमागी र लुम्लेमा आएको पहिरोमा परि मृत्यु हुनेको संख्या २३ पुगेको छ । लगातार आएको बर्षपछि गएराति आएको पहिरोमा परि अझै २९ जना वेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पहिरोले पुरिएर मृत्यु हुनेमा हुनेमा  भदौरे तामागी—५ का ६५ बर्षीय टिकाराम बि.क.,  ५५ बर्षकी राम कुमारी बि.क., ३१ बर्षकी गौरी पराजुली, गौरीका सात बर्षीय छोरा करण,  ६५ बर्षकी नन्दकली पराजुली छन् ।

यस्तै लुम्ले—६ माझघरमा गएको पहिरोले लुम्ले—६ का १० बर्षीय अर्जुन गुरुङ, ७० बर्षकी रत्ना पौडेल, ८४ बर्षीय  बसन्ती बि.क.को मृत्यु भएको छ । लुम्ले छ माझघरकै ३२ बर्षकी चिजा बिक, १४ बषर्की संझना बिक, १० बर्षकी सलिना बिकको पनि पहिरोमा परि मृत्यु भएको छ । त्यस्तै ९ बर्षका सुनिल बिक, २६ की मंजु सुनार, मंजुकी ३ महिनाको छोरी, ३२ बर्षकी सुन कुमारी जि.सी.,१० बर्षका सुगम जिसी, ५ बर्षका  संगम जिसी, बर्ष ५६ को छिरिङ राई, र छिरिङको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।

 बाढी र पहिरोका कारण भदौरेमा १४ जना र लुम्लेमा ३ जना घाईते भएका छन् । घाईतेहरुको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र मणिपाल अस्पतालमा उपचार भईरहेको छ ।  स्थानीयबासी र प्रहरीको सक्रियतामा बेपत्ता भएका ३४ जनाको खोजी कार्य जारी रहेको छ ।

यसैबीच म्याग्दीको मुदी र मुनामा गएराति पहिरोमा पुरिएर बेपत्ता भएका सातजनाको शव भेटिएको छ । मुदी—५ नेरवाङ,गाखर्कमा एकै घरका तीनसहित ६ जना र मुना गाविस– ४ कुनौटोमा एक बालिकाको पहिरोले मृत्यु भएको हो ।

मुदीको गाखर्कमा पहिरोले पुरिएर बेपत्ता भएका मुदी– १ का ७० वर्षिय कलो घर्ती, ४७ वर्षिय जीतबहादुर घर्ती र मुदी– ३ का ५२ वर्षिय भीमबहादुर घर्तीको पनि शब भेटिएको छ । मुदी—२ का ४९ वर्षिय दलदेवी पुन, उहाँको बुवा ७० वर्षिय किसलाल पुन र आमा ७३ वषिैया घनदेवी पुनको पनि पहिरोमा पुरीएर मृत्यु भएको छ ।

मुना गाविस– ४ कुनौटोमा पहिरोले घर पुर्दा ९ वर्षिय मेलिना पहरे पुनको मृत्यु भएको धौलागिरी युवा क्लब मुदीका अध्यक्ष खबिन घर्तीले जानकारी दिनुभयो ।