Thaha

Friday 03 May - 1:57 pm NST

कास्कीमा मृत्यु हुनेको संख्या १७ पुग्यो , २३ घर पुरिए,

काठमाण्डौ १४ साउन । गएरातिको वर्षापछि गएको पहिरोले कास्कीको लुम्ले र भदौरे तमागी गाविसमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । लुम्ले गाबिस–६ मा गएको पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको छ । 


पहिरोले घर पुर्दा लुम्लेका एकै घरका वसन्त विक, उहाँकी श्रीमती, नातिनातिना गरी चारवटा शब निकालिएको नागडाँडा प्रहरी चौकीका सहायक निरीक्षक ज्ञानप्रसाद लामिछानेले जानकारी दिनुभयो । मृतकमध्ये अर्जनु राईको पनि सनाखत भएको छ । स्थानीय बासिन्दाका अनुसार त्यहाँ आठजना सुतेका थिए । पहिरोले १३ वटा घर पुरेको छ । 


घटना मध्यरातमा भएकाले कोही पनि भाग्न नपाएको र बेपत्ता हुनेको खोजी भइरहेको छ । यस्तै कास्कीको भौदौरे तामांगिमा गएको पहिरोमा परि पाँच जनाको मृत्यु भएको छ । 


भदौरे तमागीका चार जनाको सनाखत भएको छ । मृत्यु हुनेमा सोही ठाउँका ६५ वर्षीय टीकाराम विक, निजकी श्रीमती ५५ वर्षीया रामकुमारी विक, ३१ वर्षीया गौरी पराजुली र ७ वर्षीय करण पराजुली भएको घटनास्थलमा पुगेका प्रहरी नायब उपरीक्षक केदार रजौरेले जानकारी दिनुभयो । 


चार बेपत्ता र १५ घाइते भएका प्रहरीले जनाएको छ । घटना स्थलमा स्थानीय, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेना उद्धार कार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।