Thaha

Friday 03 May - 8:30 pm NST

धान रोप्ने बेला नेपालको मनसुन पुर्ण निष्कृय

काठमाण्डौ ११ साउन । नेपालमा अहिले मनसुन पूर्ण रुपमा निष्कृय बनेको छ । लगातारको खडेरीले तराईका जिल्लाहरु प्रभावित बनिरहेका बेला मौसम पूर्वानुमान महाशाखाले अझै एक दुइ दिन सुख्खा रहने जनाएको छ । 


न्यून चापिय रेखा बंगालको खाँडि र भारतको राजस्थानमै रुमल्लिएकाले केहि दिनयता नेपालमा पानी पर्याप्त नपरेको मौसमवीदु मिनकुमार अर्यालले बताउनुभयो । जलवाष्पयुक्त हावा नेपालको पूर्वी भू–भागहुँदै जानुपर्नेमा त्यसो नभएकाले पानी पर्न नसकेको उहाँको भनाई छ । आगामी बुधवारबाट भने मनसुन विस्तार सक्रिय हुँदै जानेछ । 


मनसुन सक्रिय भएपनि सबै ठाउँमा भारी वर्षा भने नहुने मौसमवीद अर्यालले बताउनुभयो । आज पनि दिनभर काठमाण्डौं उपत्यकाको मौसम सामान्य रहनेछ । पश्चिम पहाडी, तथा पूर्व भेगमा साँझपछि बादल लागेर मेघ गर्जन सहित हल्का वर्षा  हुनेछ । अन्य ठाउँहरुमा भने सुख्खा नै रहनेछ ।