Thaha

Thursday 02 May - 9:24 am NST

नेपाली कामदार विदेश पठाउन रोक

काठमाडौ,२३ असार । वैदेशीक रोजगार व्यवसायीले आजदेखि नेपाली कामदार विदेश पठाउन रोक लगाएका छन् ।

श्रम तथा रोगजार मन्त्रालयले विभिन्न ७ वटा मुलुकमा जाने कामदारलाई निशुल्क टिकट र भिषा लागु गरेपछि व्यवसायीहरु आन्दोलित भएका छन् । रेडियो थाहासंचारसँग कुरा गर्दै वैदेशीक रोजगार व्यवसायी संघका अध्यक्ष विमल ढकालले श्रमराज्य मन्त्रीले व्यवसायीको कुरै नसुनी एकपक्षिय निर्णय लागु गराएको भन्दै श्रम स्विकृती लिईसकेकालाई पठाउने तर नयाँ श्रमस्विकृति बन्द गराउने बताउनुभयो ।

उच्चस्तरीय आयोग बनाएर कति समयभित्र कसरी कामदार पठाउने भनी अनुसन्धान गरेर मात्र काम अगाडी बढाउनुपर्ने व्यवसायीहरुको भनाई छ । ढकालले सरकारले हतारमा फ्रि भिसार फ्रि टिकेट लागु गर्दा विदेशीहरुसँग सम्बन्ध बिग्रिने, नेपाली कामदारको अवसर खोसीएकाले विरोध गरीएको बताउनुभयो । सरकारी निर्णयको विरोध गर्दै उनीहरुले वैदेशिक रोजगार विभागको कार्यालयमा घेराउ गरेका छन् ।

तर श्रम राज्यमन्त्री टेक बहादुर गुरुङले भने व्यवसायीहरु अनावश्यक रुपमा आत्तिएको टिप्पणी गर्नुभयो । प्रयाप्त गृहकार्यपछि मात्र सरकारले नेपाली कामदारको हितमा निर्णय गरेको भन्दै राज्यमन्त्री गुरुङले यस विषयमा व्यवसायीसँगको सहकार्यका लागी छलफलको ढोका खुल्ला रहेको बताउनुभयो ।

यसैबीच व्यवसायी र सरकारवीचको दोहोरीले रोजगारीका लागी विदेश जान काठमाण्डौँ आएकाहरु भने अन्यौलमा परेका छन् । म्यानपावर कम्पनीहरुले जसरी पनि विदेश पठाउने भन्दै बोलाएका कामदारहरु सरकारले श्रमस्विकृत नदिँदा काठमाण्डौँका होटेलहरुमा महँगो पैसा तिरेर बस्न बाध्य भएका छन् ।