Thaha

Thursday 02 May - 8:57 am NST

कृषकलाई धान रोप्न भ्याईनभ्याई


काठमाडौ,२३ असार
मनसुन सक्रिय भएसँगै देशका अधिकाँस भागमा पानी परेपछि धान रोप्ने कृषकहरुलाई अहिले भ्याईनभ्याई छ । आकाशे पानीको भरमा रोपाई गर्नेले अहिले धमाधम धान रोपिरहेका छन् ।

कृषि विकास मन्त्रालयका अनुसार अहिलेसम्म झण्डै १४ प्रतिशत अर्थात १ लाख ९० हजार हेक्टर क्षेत्रफलमा रोपाई सकिएको छ । गतवर्ष असार मसान्तसम्म ३८ प्रतिशत रोपाई भएको थियो । पानी परीरहेको र सबैतिर रोपाई चलीरहेकाले असार मसान्तसम्म गतवर्षकै अनुपातमा रोपाई सकिने मन्त्तालयका प्रवक्ता उदयचन्द्र ठाकुरको भनाई छ । उच्च पहाडी क्षेत्रमा भने आधाजसो रोपाई भईसकेको  छ ।

मन्त्रालयका अनुसार मध्यपश्चिमाञ्चलमा २१ दशमलव ६ प्रतिशत धान रोपाई भईसकेको छ । यस्तै सुदुरपश्चिममा १७ प्रतिशत, मध्यमाञ्चल र पश्चिमाञ्चलमा ११ र पूर्वाञ्चलमा ९ प्रतिशत रोपाई सकिएको छ । नेपालमा धान लगाउन योग्य १५ लाख २६ हजार हेक्टर जमिनमध्ये मौसम अनुकुल भएका बेला १४ लाख ८५ हजार हेक्टर क्षेत्रफलमा बर्षेधान रोपाइ हुने गरेको छ ।