Thaha

Monday 29 April - 2:33 am NST

गुन्डा नाईके राईलाई गोली हानेर पक्राउ

काठमाण्डौं, असार ९ । प्रहरीले, गुण्डा नाइके भनेर चिनिएका जसवन्त राईलाई काठमाडौंबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले राईलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै जाइलागेपछि उनलाई गोली हानेर दिउँसो बिजुलीबजारबाट पक्राउ गरेको  हो ।

पक्राउ गर्नेक्रममा प्रहरीमाथि जाइलागेपछि गोली चलाउनु परेको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताउनुभयो । राईको तिघ्रा र पिँडुलामा दुई गोली लागेको छ । प्रहरीको गोली लागेर घाइते बनेका गुण्डा नाइके राईको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ । उनलाई प्रहरीले निगरानीमा राखेको छ । एसएसपी खनालले राईका समूहमा रहेका अन्य गुण्डाहरुको खोजी कार्य जारी राखेको बताउनुभयो ।

राई पक्राउ पर्नेक्रममा उनका साथमा रहेका अन्य केही व्यक्ति भागेका थिए । राईविरुद्ध कालिमाटी, कलंकी क्षेत्रका होटल रेष्टुँराहरुमा धम्क्याएर रकम उठाउने गरेको भन्दै उजुरी परेको थियो । चार दिनअघि उनले हप्ता नदिएको भन्दै कालीमाटी आसपासका तीन जनालाई कुटपिट गरेका प्रहरीले जनाएको छ । पक्राउ परेका राई यसअघि पनि ज्यान मुद्दा र सार्बजनिक अपराधका मुद्दामा सजायँ पाइसकेका व्यक्ति हुन् ।